त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको कृषि वनस्पतिशास्त्र विषय समितिको संयोजनमा कृषि वनस्पतिशास्त्र विषयको स्नातकोत्तर पाठ्यक्रम परिवर्तनको लागि आधारभुत छलफल मिति २०८१ कार्तिक ८ गते ललितपुर मा सम्पन्न भयो ।
कृषि उच्च शिक्षालाई समय सापेक्ष परिमार्जन गरि पर्यावरणीय कृषिको दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले छलफल कार्यक्रम राखिएको हो । छलफल कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सह सचिव, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका निमित्त डिन, सहायक डिन, वनस्पतिशास्त्रका विभागिय प्रमुख, पर्यावरण तथा शिक्षामा अध्ययन, अनुसन्धान तथा अभियान सन्चालन गर्दै आइरहेका विज्ञहरुको उपश्थिति रहेको थियो ।
छलफलको औचित्व तथा पाठक्रमको विकासको आवश्यकतामाथि प्रस्तुति राख्दै उप प्राध्यापक सुबोध खनालले सबैसँगको सहयोग तथा सल्लाहमा पर्यावरणिय कृषि अध्यापन गर्ने उत्कृष्ट पाठ्यक्रम विकास गर्न सकिने विश्वास रहेको बताउनु भयो ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले स्नातकोत्तर तहमा अध्ययन हुने सबै विषय तथा विभागहरुको पाठ्यक्रमलाई करिब १३ बर्षपछि परिवर्तन गर्न लागिएको बताउँदै कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका निमित्त डिन किशोरचन्द्र दाहालले डिन कार्यालयले कृषि उच्च शिक्षालाई थप व्यवहारिक र प्रयोगात्मक बनाउन कोशिस गरिरहेको र आगामी शैक्षिक शत्र देखि नयाँ पाठ्यक्रमलाई प्रयोगमा ल्याउने प्रयास भैरहेको बताउनु भयो ।
छलफलमा विषय समितिले राखेको विषयगत प्रस्तावमा विज्ञहरुले आफ्नो राय प्रस्तुत गरेका थिए । छलफलमा विज्ञहरुले अध्ययन संस्थानको प्रयासको प्रसंषा गर्दै, पर्यावरणीय कृषिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने पाठ्यक्रम निर्माण गर्न आफुहरु सँधै अध्ययन संस्थानको साथमा रहेको बताएका थिए । छलफलको समापन गर्दै सहायक डिन हरि पन्तले उपश्थित सम्पूर्णलाई अमूल्य समय र योगदानको लागि धन्यवाद व्यक्त गर्नुभयो ।