
भर्मिवास, गड्यौला, गड्यौले मल र गड्यौलाले खाने कम्पोष्टबाट बगेर आएको खैरो पानी हो । गड्यौलाको संख्या धेरै बृद्धि गरेर गरिएको गड्यौले खेतीमा पानी हालि भर्मिवास लिन सकिन्छ । गड्यौले खेतीमा तापक्रमको बृद्धिसँगै भर्मिकम्पोष्टमा चिस्यानको वृद्धि हुन्छ र भर्मिवासको रुपमा वाहिर निस्कछ । यो प्रकृयालाई बढाउनको लागि निरन्तर चिस्यान कायम राख्ने र पानी छर्किरहने गर्न सकिन्छ ।
भर्मिवासमा जराको बृद्धि विकास गर्ने हर्माेन, बोट बलियो बनाउने हर्माेन, फुल लगाउने र फल लाग्ने हर्माेनहरु पाइन्छ । यसका साथै विभिन्न इन्जाइम, भिटामिन, शुक्ष्म तत्वहरु, ह्युमिक एसिड पनि पाईने भर्मिवास, खेतीपातीको लागि यउटा पूर्ण जैविक विकल्प हो । जमिनमा नाइट्रोजन निर्माण गर्ने ब्याक्टेरिया र फस्फोरस उपलब्ध गराउने ब्याक्टेरिया समेत पाईने भर्मिवासले माटोको गुणस्तर बृद्धि गर्न पनि सहयोग गर्छ ।
भर्मिवास सजिलो तरिकाबाट निर्माण गर्न सकिन्छ । भर्मिकम्पोष्ट निर्माण गरेको ठाँउमा पानीको निकासको लागि निर्माण गरेको प्वालमा भाँडा राखेर समेत भर्मिवास लिन सकिन्छ । तर सामान्य खर्चमा निरन्तर रुपमा भर्मिवास लिन सकिने प्रविधि निर्माण गर्न सकिन्छ । यहाँ बुँदागत रुपमा भर्मिवास निर्माण गर्ने विधिको बारेमा चर्चा गरिएको छ ।
१) एउटा २०० लिटरको तेलको ड्रम लिने र त्यसको पिँधमा प्वाल पार्ने,
२) उक्त ड्रमलाई कुनै उच्च ठाँउमा राख्ने या इँटा तथा स्ट्यान्डको सहायताले उठाउने,
३) ड्रमको पिँधमा करिब ६ इन्च जति इँटाका टुक्राहरु राख्ने,
४) इँटाको टुक्रा माथि करिब ५ इन्च जति गोला ढुङ्गाहरु राख्ने,
५) गोला ढुङ्गाहरु माथि करिब ५ इन्च जति मसिनो चिप्स वा बालुवा राख्ने,
६) बालुवा माथि जुटको बोरा अथवा, जालि राख्ने,
७) जुटको बोरा या जालि माथि करिब १२ इन्च जति एक दिन फिँजाएर राखेको गोबर राख्ने,
८) भर्मिवासको ड्रममा निरन्तर थोपा थोपा पर्ने गरि पानि आउने व्यवस्था बनाउने,
यसरी तयार भएको सेटमा निरन्तर पानी राख्नुपर्छ पहिलो ८ देखि १० दिन ड्रमको धाराबाट आएको पानीलाई पुन ड्रममै राख्दिनुपर्छ । १० दिनपछि आएको तरल पदार्थलाई भर्मिवासको रुपमा प्रयोग गर्न सकिन्छ ।
माटो सुधारको लागि एक भाग भर्मिवासमा ५ भाग पानी मिसाएर सिधै माटोमा प्रयोग गर्न सकिन्छ । त्यस्तै एक भाग भर्मिवासमा ५ भाग पानी मिसाएर वोट विरुवामा छर्किन सकिन्छ ।
भर्मिवास निर्माण गर्ने विधिको पुरा भिडियो यहाँ हेर्न सक्नुहुनेछ