हाम्रो माटोमा गाईवस्तुको मलको प्रभावकारीता घट्दै गहिरहेको छ । त्यसैले सबैतिर रसायनीक मल नभई उत्पादन हुन्न भन्ने मनोविज्ञानको विकास भएको देखिन्छ । वास्तवमा बोटविरुवाले मल सोझै खाँदैनन् । जमिन तथा मलमा भएका जिवाणुहरुले नाइट्रोजन लाई नाइट्रेट आयोन, फस्फोरसलाई अर्थाेफस्फेट को रुपमा परिवर्तन गर्दछन्, जुन विरुवाको खाना हो ।


गाईवस्तुको मलको प्रभावकारीता घट्नुको मुख्य कारण हामिले पालन गर्ने गाईवस्तुको प्रजाति, पशुपालन तथा मल भण्डारण प्रकृया र खेती प्रणाली हो ।


गाईवस्तुको प्रजाती : पहिले हामिसँग स्थानीय गाईवस्तु हुन्थे । जसको कुनै विशेष वातावरणमा वृद्धिविकास भएको हुन्थ्यो र त्यो वातावरणमा हुने असल जिवाणुहरु गाईवस्तुको पाचनप्रकृयामा पनि पाइन्थे । जसका कारण गाईवस्तुको मलमा पनि जिवाणुको संख्या पर्याप्त हुथ्यो तर धेरै दुध दिने विदेशि प्रजातीको गाईवस्तुमा जिवाणुको संख्या कम हुने र यिनिहरुको मल स्थानीयको जति प्रभावकारी नहुने अध्ययनले देखाएको छ ।


पशुपालन तथा मल भण्डारण : अहिले पशुलाई खुवाउन धेरै अन्नको प्रयोग हुने, चरनको व्यवस्था नहुने कारणले पनि जिवाणुको संख्यामा कमि आउँछ । यो सँगै बर्षाै मल एकै ठाँउमा भण्डारण गर्दा मलको खातमा अक्सिजन नपुगेर मल नकुहिने र नकुहिएको मल खेतीमा प्रयोग गर्दा मलसँगै रोग किरा सँगै बारीमा जाने तथा मल कुहिने प्रकृया सुरु भई तापक्रम बढेर बोटविरुवा नै मर्ने समस्या देखिन्छ ।


खेती प्रणाली : पछिल्लो समय खेतबारीमा व्यापक प्रयोग भएको रसायन तथा विषादीले खेतबारीमा भएका असल जिवाणुको संख्या व्यापक घटाएको पाइन्छ । जलवायु परिवर्तन तथा एकल खेतीले बारीको चिस्यान घटेर पनि जिवाणुहरुको संख्यामा कमि भएको पाईन्छ ।


यो समस्याको एउटा उत्तम समाधान हो – घनजिवाम्रित । घनजिवाम्रित गाईवस्तुको गोवरमा जंगलका असल जिवाणु र लोकल गाईको पिसावमा रहेका जिवाणुको प्रवेश गराई, जिवाणुको संख्या बृद्धि गरि मलको स्तर बृद्धि गरि बनाईन्छ । घनजिवाम्रित विभिन्न तरिकाले बनाउन सकिन्छ ।


तरिका १ : करिव १०० केजि मललाई फिँजाएर घामनपर्ने ठाँउमा २४ घण्टाको लागि छोडिदिने । मलमाथि २ मुठि जंगलको माटो या ठुलो वृक्षमुनिको माटो छर्कने । त्यसमाथि १ केजि दालकाे धुलाे छर्किने । १ केजि सख्खरलाई लोकल गाईको पिसाबमा घोलेर छर्कने । करिब एक हप्तामा घनजिवामृत तयार हुन्छ ।


तरिका २ : करिब १०० केजि मललाई फिँजाएर घाम नपर्ने ठाँउमा २ दिनको लागि सुकाउने । मलमाथि तयारी अवस्थाको २० लिटर जिवामृत छर्किने । एक हप्तापछि पुन जिवामृत छर्किने । करिव दुई हप्तामा घनजिवामृत तयार हुन्छ ।
घनजिवामृतलाई ६ महिनासम्म प्रयोग गर्न सकिन्छ । जमिन जोत्नुपूर्व घनजिवामृत छर्केर जोत्नुपर्छ । सहरि खेती, कौशि खेतीमा पनि घनजिवामृत उत्तिकै प्रभावकारी हुन्छ ।

घनजिवामृत बनाउने प्रकृया हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित ख