अहिले हामी जलवायु परिवर्तनले सिर्जना गरेका डरलाग्दा प्रकोपहरूबाट गुज्रिरहेका छौँ। पानी, तापक्रम, हावा, सापेक्ष आर्द्रता जस्ता मौसमजन्य सूचकहरू हामीले भोग्दै आएको जस्तो छैनन्। तापक्रम बढ्दै गएको छ। धेरै समय सुख्खा हुन्छ र आरिघोप्टे पानी पर्छ। हिउँद त सुख्खा छँदै थियो, मध्य बर्खामा पनि पानी नपरेर बाली लगाउन नसक्ने अवस्था आइरहेको छ। जानकारहरू यस्तो अवस्था बढ्दै जाने बताउँछन्। यस्तो अवस्थामा पानीको धेरै आवश्यकता पर्ने तरकारी खेतीले सबैभन्दा ठूलो चुनौती भोगिरहेको छ। हामी जलवायु परिवर्तनसँग जुध्दै रसायन र विषादी प्रयोग नगरी गरिने तरकारी खेतीको ढाँचा ‘आकास चौरासिया’ को बारेमा चर्चा गर्नेछौँ। उब्जनी पर्माकल्चर फार्ममा आधा रोपनी जग्गामा आकास चौरासिया ढाँचाको खेतीको प्रयोग गरिएको थियो, त्यसको अनुभव पनि यहाँ उल्लेख गरिएको छ।

के हो आकास चौरासिया ढाँचाको तरकारी खेती

आकास चौरासिया भारतको मध्य प्रदेशमा जन्मेका एक युवा किसान हुन्। उनले एक एकड जमिनमा बहुल तहको (बहुतले) प्राङ्गारिक तरकारी खेतीको प्रयोगहरू गरे र जन्मियो ‘आकास चौरासिया बहुल तरकारी खेतीको ढाँचा’। कम लागतमा धेरै आम्दानी हुने यो ढाँचाको खेती साना किसानहरूलाई अत्यन्तै उपयुक्त र फाइदाजनक छ। स्थानीय स्रोत–साधनको उच्चतम प्रयोग, जमिनको भरपूर सदुपयोग र माटोको चिस्यान तथा स्वास्थ्यलाई केन्द्रमा राखेर गरिने यो खेती किफायती र फाइदाजनक त छँदै छ, वातावरणीय हिसाबले पनि उपयुक्त छ।

आकास चौरासिया ढाँचाको खेतीको सिद्धान्त

हाम्रो वरिपरि सबैभन्दा उर्वर र उब्जनीयुक्त क्षेत्र कुन होला? सायद त्यही जंगल, जहाँ हजारौँ बिरुवाहरू मलको प्रयोग नगरी, गोडमेल नगरी, अत्यधिक सुख्खा हुँदा वा धेरै पानी परेर ढुवान हुँदा पनि हुर्किरहेका, फुलिरहेका, फलिरहेका हुन्छन्। आकास चौरासियाले त्यही जंगललाई हेरेर तरकारी खेतीको ढाँचा निर्माण गरेका हुन् र यसका सिद्धान्त पनि तिनै घना जंगलबाट लिएका हुन्।

विविधता – जसरी घना जंगलमा थोरै क्षेत्रको अवलोकन गर्दा धेरै प्रजातिका बोटबिरुवाहरू पाइन्छन्, त्यसैगरी आकास चौरासिया खेती प्रणालीले पनि तरकारीको विविधताको सुनिश्चितता गर्दछ।

जमिनमा सिधा सूर्यप्रकाश पर्न नदिने – जसरी जंगलमा ठूला रूखहरूबाट, पातहरूमा ठोक्किएर सूर्यप्रकाशको केही अंश मात्र जमिनमा पर्छ, त्यसैगरी आकास चौरासिया खेतीमा पनि सूर्यप्रकाशलाई सिधा जमिनमा पर्न दिइँदैन।

बहुतले खेती – यदि जंगललाई नियाल्ने हो भने त्यहाँ साल, खयर, सिमल जस्ता ठूला रूखहरू, ती रूखमा बेरिएका लहराहरू, जमिनमा उम्रिएका घाँसहरू र जमिनमुनि फलेका तरुलहरू एकै ठाउँमा देख्न सकिन्छ। आकास चौरासिया ढाँचाको खेतीमा पनि बिरुवाहरूलाई त्यसैगरी मिलाएर रोपिन्छ र उच्चतम उत्पादन लिइन्छ।

बाँझो जमिन नराख्ने – तपाईं जुनसुकै घना जंगलमा जानुस्, त्यहाँ के न के झारहरूले जमिन ढाकिरहेको हुन्छ। आकास चौरासिया ढाँचाको खेतीमा पनि पूरै वर्ष जमिन कुनै न कुनै बालीले ढाकिएको हुन्छ।

जैविक गतिविधिलाई प्रोत्साहन गर्ने वातावरण निर्माण – यदि तपाईंले घना जंगलको माटो हातमा लिनुभयो भने चिसोपन महसुस गर्नुहुन्छ। जंगलको माटोमा प्रशस्त बिरुवाका हामीले देख्न नसक्ने साथीहरू (असल ढुसी, ब्याक्टेरिया) र देख्न सक्ने साथीहरू (गेड्यौला) पाइन्छन्। आकास चौरासिया ढाँचाको खेतीले पनि सिधा सूर्यप्रकाश पर्न नदिई, जमिन बाँझो नराखी, रसायन तथा विषादीको प्रयोग नगरी यस्ता बिरुवाका साथीहरूलाई मनपर्ने वातावरणको सुनिश्चितता गर्दछ।

स्थानीय स्रोतको उच्चतम प्रयोग – जंगलमा रूखहरू हुर्कन्छन्, रूखहरूबाट पात झर्छ, झारपात पलाउँछन् र कुहिन्छन्, जंगली जनावर, जिवाणु र गेड्यौलाले तिनलाई खान्छन् र मल बनाउँछन्। कुनै कुरा पनि खेर जाँदैन। आकास चौरासिया ढाँचाको खेतीले पनि खेतीमा उत्पादित सबै कुराको उपयोग गर्न प्रोत्साहन गर्दछ, जसले खेतीलाई किफायती बनाउँछ।

कसरी गर्ने आकास चौरासिया ढाँचाको खेती? (उब्जनी पर्माकल्चर फार्मको उदाहरण सहित)

जमिनको निर्माण
आकास चौरासिया ढाँचाको खेतीमा सबैभन्दा पहिले जमिन निर्माणको काम गरिन्छ। चौरासिया जमिन निर्माणको काम मागमा गर्न सुझाउँछन्, जसले गर्दा तरकारीहरू उच्च मूल्य भएको बेला उत्पादन गर्न सकियोस्। सर्वप्रथम छापो र थाङ्ग्राको लागि जमिनमा बाँस गाडिन्छ। रोमा दुई बाँसबीचको दूरी ५ फिट हुन्छ भने कोलममा छ फिट हुन्छ। जमिन निर्माण गर्दा धेरै पानी पर्ने क्षेत्रमा जहाँ भिरालो हुन्छ त्यतै ड्याङ निर्माण गर्नुपर्छ भने पानी कम पर्ने क्षेत्रमा भिरालोलाई समानान्तर पारेर ड्याङ निर्माण गर्नुपर्छ। गोडमेल तथा बाली टिप्न सहजताको लागि ड्याङको चौडाइ ५ फिटको राख्न उचित हुन्छ। ड्याङ खन्दा ड्याङको बीचमा बाँस पर्ने गरी खन्नुपर्छ। बाँसको उचाइ ९ फिटको हुनु उपयुक्त हुन्छ।

माँचको निर्माण
जंगलमा जस्तै जमिनमा सिधा सूर्यप्रकाश पर्न नदिन माँचको निर्माण गरिन्छ। जमिनमा गाडिएको बाँसमा जमिनबाट ७ फिटको उचाइमा तारको जाली बनाइन्छ र जालीमा स्थानीय रूपमा उपलब्ध रुखको डाँलो, पराल छ्यावालीको सहयोगमा आधा प्रकाश रोकिने र आधा प्रकाश छिर्ने गरी माँचको निर्माण गरिन्छ।

विरुवाहरूको बीउ राख्ने र रोप्ने
माँचको निर्माण भैसकेपछि प्राङ्गारिक गोठेमलको प्रयोग गरेर जमिन खनिन्छ। जमिनमा बाक्लो गरेर जमिनमुनि फल्ने बाली अदुवा, बेसार या पिँडालु रोपिन्छ। जमिनमुनि रोपिएका बीउहरू उम्रन करिब एक महिना लाग्छ। यो समयलाई सदुपयोग गर्न र जमिनलाई खाली नराख्न जमिनमा तोरी, धनियाँहरू झर्छन्। यसका साथै जमिनमा लहरेबालीहरू उदाहरणका लागि काँक्रो, करेला, लौका, घिँरौला, सिमी र बोडी पनि रोपिन्छ। करिब १० देखि १५ फिटको दूरीमा स्थानीय ठूला रुख हुने मेवाको विरुवा रोपिन्छ।

उत्पादन लिने र बेच्ने
रोपेको करिब एक महिनादेखि धनियाँ वा सागको उत्पादन लिन सकिन्छ। धनियाँ वा सागलाई जरैदेखि उखेल्दा माटोको तल्लो भागसम्म हावा पुग्न पनि सहयोग गर्छ। सोही समयमा रोपिएका लहरेवालाई निर्माण गरिएको तारमा चढाउनुपर्दछ। करिब डेढदेखि दुई महिनादेखि लहरेबालीले उत्पादन दिन सुरु गर्छ। लहरेबालीको उत्पादन लिइसकेपछि लहरेबालीले माँचको काम गर्छ र अर्को वर्षदेखि छुट्टै माँच लगाइरहन पर्दैन। करिब एक वर्षमा जमिनमुनिका बालीहरूको उत्पादन लिइन्छ र यसैगरी यो प्रक्रिया दोहोराइन्छ।

उब्जनी पर्माकल्चर फार्ममा हामीले के के गर्यौं?
जमिनको तयारी गरेर हामीले परालको माँच निर्माण गर्यौं।


जमिन धेरै नै सुख्खा भएकाले सियो बनाएर जमिनमा जिवामृतमा डुबाएको बायोचार प्रयोग गर्यौं र अदुवा र बेसार रोप्यौं।


अदुवा बेसारलाई पुरेर माथिबाट तोरी र धनियाँ छरिदियौं। धनियाँ उम्रेर जिवित छापोको काम गर्‍यो, वरपरका बारी पानी नपरेर सुख्खा हुँदा पनि हामीले खेती गरेको जमिनमा चिसोपन कायम थियो।


धनियाँसँग बीचबीचमा लहरेबालीहरू काँक्रो, तनेबोडी, करेला, सिमी र घिँरौला रोप्यौं।


करिब १५ फिटको अन्तरमा स्थानीय जातको मेवा रोप्यौं।

उत्पादन के कति भयो?
हामीले उब्जनी पर्माकल्चर फार्ममा प्रयोग गरेको आकास चौरासियाको खेती पूर्ण सफल रह्यो। आधा रोपनी जग्गामा करिब ३०० केजी काँक्रो, १२० केजी तितेकरेला, १२० केजी धनियाँ, ३० केजी तनेबोडी र २५ केजी सिमी उत्पादन भयो। अदुवा र बेसार लोभलाग्दो गरी हुर्किरहेको छ।

जलवायुसँग कसरी जुध्यो?
हामीले जमिनको तयारी गरेको बेला जमिन एकदमै सुख्खा थियो। मानिसहरूले चिस्यान नभएर मकै रोप्न सकिरहेका थिएनन्। हामीले खेती गरेको जमिनमा पनि पानीको स्रोत थिएन। हामीले छिमेकबाट ४०० लिटर पानी लिएर बिरुवाहरू लगायौं। बाक्लो गरी छरेको धनियाँ उम्रिएपछि यसले जिवित छापोको काम गर्‍यो र पानिलाई वाष्पीकरण हुन दिएन भने माँचले सूर्यप्रकाशलाई सिधा बारीमा पर्न दिएन।

रोग किरा कसरी व्यवस्थापन भयो?
बालीहरूमा विविधता भएकाले धेरै कम किरा लाग्यो। सुरुको एक महिना धनियाँको गन्धको कारण किराको प्रकोप कम भयो भनेपछि अदुवा र बेसारले गर्दा लहरेबालीमा सोचेजस्तो किरा लाग्न पाएन। काँक्रामा छेदुवा किराको प्रकोप देखियो, जसलाई मोहनी पासोको प्रयोग गरेर नियन्त्रण गरियो।
जमिनमा जिवाणुहरूको पर्याप्त उपस्थिति, माँचको प्रयोगबाट सुक्ष्म जलवायुको निर्माण, माटोमा प्रशस्त गेड्यौलाहरूको उपस्थिति र जिवामृतको निरन्तर प्रयोगले गर्दा धेरै रोगको प्रकोप देखिएन। बीचमा धेरै सुख्खा भएर पँहेलिएका बोटहरू पनि पानी परेसँगै हराभरा भए।

अब के गर्छौं? हामी के भन्छौं?
हामीले प्रयोग गरेको आकास चौरासिया ढाँचाको खेती पूर्ण सफल भएको छ। हामी यो ढाँचालाई आधा रोपनीबाट बढाएर ४ रोपनीमा गर्ने तयारी गरिरहेका छौं। जलवायु परिवर्तनको बढ्दो प्रभाव, रसायन र विषादीले मानव स्वास्थ्यमा पारेको गम्भीर प्रभाव र खेतीमा बढिरहेको लागत र घाटालाई कम गर्न सबैलाई आकास चौरासिया ढाँचाको खेती गर्न आग्रह गर्दछौं।

प्रतिक्रिया

सम्बन्धित ख