भनिन्छ ‘यो सूचना र प्रविधिको युग हो ।’ विश्वका सबैजसो घटनाहरु एकैछिनमा एकै पटक विश्वभर आदान प्रदान हुन्छन् । विगतमा हुलाकीको चिठी महिनौं कुरेको नेपाली समाजको आजको पुस्ता सूचना र प्रविधिको विकाससँगै सेकेन्डभरमा विश्वमा आफ्ना कुरा पु¥याउन सक्ने भएको छ ।

केहिवर्ष अघि सम्म सूचना पाउन रेडियोका घण्टे समाचार (प्राय घण्टा–घण्टामा समाचार दिने रेडियोको चलन छ) र भोलि पल्ट प्रकाशन हुने छापा पत्रिका कुर्नुपथ्र्यो । अहिले अनलाइन सञ्चारको विकास तिव्रतम् गतिमा भईरहेको छ । यसले आम नागरिकलाई विश्वसनिय सूचना क्षणभरमा पस्किरहेको छ । भलै तथ्यहिन, प्रायोजित र मनगणन्ते विचारलाई समाचारको रुपमा पस्कने, कतै गुनगान गाउने र कमाउने, कतै बद्नामी गराउने प्रयोजित ‘मिसन’का कारण अनलाइन मिडिया प्रतिको विश्वास गिर्दो छ । राज्यले सूचना विभागमा दर्ता र प्रेस काउन्सीलमा सुचिकृत गराउने बाहेक नियमन र प्रोत्साहनका काम उत्ति गर्न सकेको छैन ।

नेपाली सञ्चार जगतमा अनलाइनको विकास स्वागत योग्य छ । यसलाई जनजनको मनमनको बनाउने दायित्व पनि हामी सँगै छ ।

इन्टरनेटको पहुँचमा हुनेहरु अनलाइन मार्फत सूचना लिन्छन् । त्यसमा केही दिमाग लाउनेहरु अनलाइन मार्फत व्यापार गर्छन् । कम्पनीहरुले आफ्ना उत्पादनहरु विश्व बजारमा विज्ञापन गर्छन् । अनलाइन सबैको सारथी बन्नेक्रममा छ ।

यहि भिडमा उब्जनी डटकमले उत्साहका साथ आफ्नो यात्रा सुरु गरेको छ । उर्जाशिल उब्जनीका युवाहरुको निकै ठुलो उत्साह, जोश, जाँगर देख्दा लाग्यो उब्जनीको भविष्य निकै उज्ववल छ ।

कृषिका मात्रै कुरा गर्ने अनलाइनका रुपमा कृषि नै पढेर अध्ययान अनुसन्धानमा जुटेका उर्जाशिल युवाहरुले सुरु गरेको यो अनलाइन अन्यको तुलनामा निकै पृथक हुनेवाला छ ।

कृषि प्रदान देश नेपाल कृषिका क्षेत्रमा राज्यको अरबौं लगानी छ । अनलाइन सहितका सञ्चारमाध्यको विकास दिनानुदिन भईरहेको छ । तर विडम्बना हाम्रो देशका कृषकहरु सूचनाको अभावमा राज्यप्रदत सेवा उपभोग गर्नबाट बञ्चित छन् ।

सरकारी गैरसरकारी वा अन्य सरोकारवाला निकायबाट कृषिका क्षेत्रमा योगदान गर्नेक्रम बढ्दो छ । उनीहरुको कार्यक्रम निश्चित मापदण्डमा हुन्छ । पहिलो कुरा कृषकलाई सूचना थाहा हुँदैन, दोस्रो कुरा किसान उत्तिसाह्रै लेखपढ गरेका हुँदैनन् र उनीहरुसँग फुर्सद पनि छैन । त्यसको फाईदा केही कागजात मिलाउन र बोल्न जान्नेहरुले उठाईरहेका छन् । वार्षिक करोडौं रकम किसानका नाममा ठेकेदारी गर्नेहरुले झ्वाम पारिरहेको तितो यथार्थ छ ।

किसानलाइ जम्मा जम्मी सय रुपैयाको तरकारीको बिउ बाँडेर उसको जीवनस्तर सुधारियो, वार्षिक लाखौं कमाउन थाले भनेर कथा लेख्ने र डोनर फकाउनेको भिड नेपाली बजारमा बढिरहेकै छ । खासमा तरकारीको बिउ दिएपछि किसान आत्मनिर्भर हुन्छन् र देश समृद्ध बन्छ भन्नु ‘डोकोमा दुध दोएर खिरखाने सपना देख्नु जस्तै हो ।’ समयमा मल, बिउ सहित सरकारले घोषणा गरेका आर्थिक तथा प्राविधिक सहयोग पाउने कुरा त एकादेशको कथा हाम्रै देशमा छ ।

कृषिमा आधुनिकताको खाँचो छ । व्यवसायिकरण र बजारीकरणका सवाल उत्तिकै पेचिला छन् । गाउँमा फलेको अर्गानिक अन्न, फलफुल र तरकारी कि त आफैंले खाइसक्नुपर्ने होइन भने कुहाएर फाल्नुपर्ने किसानको बाध्यता छ । किसानको हातदेखि उपभोक्ताको मुख सम्म विचौलियाको विगविगी छ ।

यो अवस्था सुधारका लागि एउटा मात्रै क्षेत्र र वर्गको भूमिकाले नपुग्न सक्छ । सबैले एकसाथ एक पटक मात्रै यता ध्यान दिने हो भने केही सुधार पक्कै सम्भव छ ।

नेपाली मुलधारका मिडियामा किसानका सवालहरु निरन्तर उठ्छन् तर मिसन पत्रकारितामा कृषिको विषय खासै प्राथमिकतामा पर्दैन । अब उब्जनी टीमले यि सवालहरुलाई तथ्यमा आधारित सामाग्री बनाएर पस्कन सक्नुपर्छ । देशभरका किसानको सहयात्री बन्न सक्नुपर्छ । नयाँ र फरक काम गर्दा एक पटक गुगल र युटुभ हेर्ने अनलाइनहरु बढ्ने बानी बसिसकेको छ । किसानले पनि खेतबारीमा कुटो कोदालो गर्दै गर्दा उब्जनीडटकम खोलेर हेरोस् त्यसबाट केही सिकोस् र परम्परागत खेतीलाई आधुनिकतामा बदल्न सकोस् ।

कोरोनाको कहरमा घरैमा बसेर सिकाईलाई निरन्तरता दिइरहेका विद्यार्थीहरुले यत्तिको मिसन भिजन सहित लागेको   देख्दा उब्जनीको सफलता धेरै टाढा छैन । देशभरका दश जना एउटै क्याम्पसका एकै उमेरसमुहका युवा साथीहरुको यो उत्साह निरन्तर रहनुपर्छ । सहकार्य र सहयात्रा अटुट बन्नुपर्छ ।

आज यो अनलाइनका लागि लेखेको लेख भोलि लोकसेवाका परीक्षामा सहयोगी बन्न सक्छन् । त्यहि प्रश्न वा त्यहि विषय नभएपनि त्यो शैली र भाषा पक्कै काम लाग्छ । देशमा रहँदा राजगारीमा हुँदा वा अन्य केही नगर्दा पनि उब्जनीलाई उब्जाउशिल बनाईरहन पर्छ ।

पत्रकारिता सबैले गर्नुपर्छ भन्ने होईन तर आधारभुत पत्रकारिता सबैले सिक्दा राम्रो, किनकी पत्रकारितामा खास २ कुरा सिक्ने हो । एउटा बोल्न, अर्को लेख्न । लेख्ने र बोल्ने कला पत्रकार बन्दा मात्रै वा अरुलाई भन्दा मात्रै चाहिने कुरा होईन । लेख्न र बोल्न जान्नेहरुले विश्व हल्लाईरहेका छन् । उनीहरु हरेक क्षेत्रमा सफल छन् त्यहि नजान्नेहरु जहाँ पनि असफल छन् । असफल हुन्छन् ।

कृषि क्षेत्रका ठेकेदार मिडियाका रुपमा आफैंलाई घोषणा गरेर लागेका केही र साच्चिकै कृषिमा योगदान गरिरहेका केही त्यस क्षेत्रका सफल सञ्चार माध्यमहरु पनि छन् । उनीहरुको असल अभ्यास उब्जनीले सिक्न सक्छ र फरक अभ्यास गरेर सफलताको संकेत देखाउन सक्छ । त्यसो हुन सके यो सञ्चारमाध्यम देशको एउटा प्रतिष्ठित मिडिया हाउसको रुपमा स्थापित हुन धेरैबेर लाग्दैन ।

पक्कै केही चुनौतीहरु अवस्य छन् । तर चुनौतीलाई अवसरका रुपमा बदल्न उब्जनी टीम सफल हुनेछ ।

अनलाइन पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा छ । राजधानीमा बस्नेले प्रदेशका लागि नगन्ने अझ जिल्ला र गाउँघरका कुरा गर्ने अनलाइनलाई अनलाइन नै होइन भन्न बेर नलाउनेहरु पनि भेटिन्छन् । राजधानी ठेगाना हुने स्वघोषित् ‘राष्ट्रिय’ र जिल्लामा रहेर सञ्चालनमा रहेकाहरु ‘लोकल’ हुन् । अझ तेरो भन्दा मेरो गतिलो भन्ने आम चिन्तनलाई चिर्न उब्जनीले अरु केही गर्नुपर्दैन सहि सूचना र आधुनिक कृषि प्रविधिको ज्ञान खोजिरहेका किसानका चाहना अनुसारका पाठ्य सामाग्री पस्कँदै नीतिनिर्माण तहमा बस्नेहरुलाई समेत राय सुझाव दिन सक्ने तथ्थ र तथ्याङ्क विश्लेषण सहितका लेख, रचनाहरुको निरन्तर वर्षाए पुग्छ । कृषि क्षेत्रका सबैजसो निकायहरुको सहयात्री बन्न सक्छ, उब्जनी डटकम ।

उब्जनीले आम अनलाइनहरुले खेपेको जस्तो तथ्यहिन, प्रायोजित समाचार पस्कने, कतै गुनगान गाउने र कमाउने, कतै बद्नामी गराउने प्रयोजित ‘मिसन’ नबोकोस् । आफ्ना उद्देश्य अनुसार उब्जनीलाई विश्वसनीय, तथ्यपरक, सन्तुलित एवं निष्पक्षताको केन्द्र बनाउने र त्यसैमा व्यवसायिकता खोज्दै किसानको खेतबारीमा उब्जनीको योगदान पुग्न सकोस् । व्यक्तिगत, संस्थागत वा क्षेत्रगत साथ, सहयोग, हौसला र उत्साह दिन कन्जुस्याइँ गरिने छैन । उर्जाशिल उब्जनीलाई उन्नतिका लागि उद्युम शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर