परिचय
जैविक झोलमल विभिन्न विशेषता भएका स्थानीय कच्चा पदार्थहरु मिलाई तयार पारिने बिरुवाको लागि चाहिने भिटामिनयूक्त झोल हो । यसलाई फलफूल, तरकारी खेतीदेखि जुनसुकै बालीमा प्रयोग गर्न सकिन्छ । झोल मलमा भएको भिटामीनहरुलाई बिरुवाले पात र जरा दुबैबाट प्राप्त गर्दछ । यो मल खेतीको प्रकृति अनुसार प्रयोगको तरिका र समयहरु फरक फरक छन् । झोलमल तराईदेखि हिमालसम्म जुनसुकै हावापानीमा सजिलै तयार पार्न सकिन्छ । स्थानीय हावापानी र मौसम अनुसार यसको तयार हुने अवधि भने फरक हुने गर्दछ । यस्तो मल बनाउन स्थानीय स्तरमा पाईने कच्चा पदार्थ पनि फरक फरक प्रयोग गर्न सकिन्छ । यो मलको लागि चाहिने मुख्य कच्चा पदार्थहरुमा गाईबस्तुको मुत्र (गाईबस्तुकोे पिसाब नभएमा मान्छेको पिसाब पनि प्रयोग गर्न सकिन्छ तर मानिसको पिसाब गाँईबस्तुको भन्दा कम प्रभावकारी हुन्छ । यसको मात्रा थोरै भएपनि धेरै काम गर्दछ । मान्छेको, भैसीको पिसाव प्रयोग गरेमा पानीको मात्रा घटाई गाईबस्तुको भन्दा भन्दा ३,४ गुणासम्म बढाई प्रयोग गर्न सकिन्छ ।), गोबर, खरानी, हरियो घाँस (मलको लागि कमलो, बाख्लो पात, डाँठ भएको र छिटो गल्न सक्ने विशेषताको उपयुक्त हुन्छ) प्रमुख हुन ।
बनाउने विधि
यदि १०० लिटरको ड्रममा झोल मल तयार पार्ने हो भने
१) गाईबस्तुको गोबर २० के.जी २) गाईबस्तुको मुत्र ६ लिटर ४) खरानी ७ के.जी (बढीमा) ५) हरियो घाँस १५ के.जी ५) हड्डीको धुलो ४ के.जी (यदी हड्डीको धुलो नपाइएमा १५ के.जी हरियो घाँस मध्ये ८ के.जी लसुन प्रजातिको झार मिसाउन सकिन्छ । लसुन प्रजातिको झारमा लसुन, प्याज, लिण्डे, हरियो जिम्मु इत्यादी पर्छन । यी र यस्तै कच्चा पदार्थहरु बाट निम्न तरिकाले मल तयार पार्न सकिन्छ :
१. १०० लीटर को ड्रममा ४५ लीटर पानी राख्ने ।
२. ड्रममा राखिएको पानीमा २० के.जी गोबर र ७ के.जी खरानीको घोल बनाउने ।
३. हरियो घाँसलाई टुक्रा बनाई वा कुटेर मसिनो बनाई ड्रमको घोलमा मिसाउने ।
४. उपलब्ध भएमा हड्डीको धुलो घोलमा मिसाउने यदी उपलब्ध नभएमा हरियो घाँससँगै लसुन प्रजातीको झार मिसाउने ।
५. गाईबस्तुको मुत्रलाई मिसाई ड्रमलाई बन्द गर्ने । ड्रमलाई भरी नगराई कम्तीमा ५ लिटरसम्म खाली राख्नु पर्दछ । दुई दुई दिनको फरकमा बिहान घाँम लाग्नु अगाडी काठले ड्रमको फेद सम्म पुग्ने गरि हल्लाउनु पर्दछ । तयार भएको मललाई ड्रम, ग्यालिन र बोतलमा बन्द गरी भण्डारन गरी आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । ड्रमको पिँधमा थिग्रीएको पदार्थलाई कम्पोष्ट खाडलमा हालेर कम्पोष्ट बन्ने प्रक्रियालाई छोटो बनाउन पनि सकिन्छ ।
तापक्रम अनुसार मल तयार हुने अवधि ४० (तराईमा मौसम अनुसार छिटो पनि तयार हुनसक्छ) दिनदेखि ३ महिनासम्म लाग्ने गर्दछ । झोल मल अन्य भन्दा कालो रङ्गको ड्रममा छिटो तयार हुने गर्दछ । यदी ड्रममा घोल सङ्लिएर झोलमाथि निस्किएर कच्चा पदार्थहरु पिँधमा थिग्रीएमा मल तयार भएको मानिन्छ ।
प्रयोग विधि :
तयारी झोलमललाई जुनसुकै फलफूल खेत, तरकारी खेती र बालीहरुमा प्रयोग गर्न सकिन्छ । यो मल बिरुवाले पात र जराबाट लिने(ग्रहण) गर्दछ । यस मलको प्रयोग विधिलाई निम्न भागमा विभाजन गरेर प्रयोग गर्न सकिन्छ ।
१. तरकारी बालीमाः
क) नर्सरीको बिरुवालाई एक भाग झोलमलमा १० भाग पानी मिसाएर प्रयोग गर्नुपर्दछ ।
ख) नर्सरीबाट बेर्ना सार्न तयार भएको बिरुवा र भर्खर बेर्ना सारिएको बिरुवालाई १ भाग मलमा ८ भाग पानी मिसाएर प्रयोग गर्नु पर्दछ ।
ग) बेर्ना सारेर हुर्कदै गरेको कलीलो तरकारीलाई १ भागमा ६ भाग पानी मिसाई प्रयोग गर्नु पर्दछ ।
४) बयस्क हुदै गरेको र बयस्क सागपातलाई १ भागमा ५ भाग पानी मिसाई प्रयोग गर्नु पर्दछ । सामान्यतया यस्तो झोलमल प्रयोग गर्दै जादा अनुभवको आधारमा मात्राहरु आफै निर्धारण गर्न सकिन्छ ।
२. फलफूल खेतीमाः
फलफूल खेती स्याउ, ओखर, अङ्गुर, आरु, अनार लगायत शुस्क क्षेत्रदेखि उष्ण मौसमी हावापानी पाईने जुनसुकै हावापानी तथा जुनसुकै फलफूलहरुमा आवश्यकता र मौसम अनुसार झोल मलको प्रयोग गर्न सकिन्छ । सामान्यतया शुस्क क्षेत्रमा पाईने पतझर (हिउँदमा पात झर्ने) फलफूलहरुमा निम्न तरिकाले वर्षको कम्तीमा २ पटक झोल मलको प्रयोग गर्न सकिन्छः।
क) पहिलो पटक पात झरेपछि जाडो मौसमको काटछाट ९एचगलष्लन० लगतै पात पलाउनुभन्दा अगाडी बिरुवाको वरीपरी सर्कलमा खनेर २ लिटरदेखि माथि बिरुवाको आकार अनुसार १५ लिटरसम्म झोल मल राखी खनेको सर्कल पुरी दिने र पाईपबाट पानीले भिजाउने जसले सबै जरामा मल पुग्दछ भने बिरुवाले मलसँगै पानी पनि प्राप्त गर्दछ ।
ख) फलफूलको फूल फुलेर भिडी (फलको सानो चिचिला) लागेपछि १ भाग झोलमलमा ४ भाग पानी मिसाई बिरुवाको पात र फलमा पर्ने गरी प्रयोग गर्ने ।
ग) यी दुई समय बाहेक फल पाक्नुभन्दा अगाडी तथा अन्य समयहरुमा बिरुवाको आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । तथापी बिरुवामा फूल फुलेको समय र फल पाकेर रुखमै भएको अवस्था यस्तो मलको प्रयोग गर्नु हुदैन ।
३. अन्य खेतीबालीहरुमाः
फलफूल, तरकारीका साथै जुनसुकै खेती बालीहरुमा झोलमलको प्रयोग गर्न सकिन्छ । धान, मकै, गहुँ, फापर लगायतका बालीहरुमा फूल फुलेको अवस्था बाहेक अन्य समयमा आवश्यकता अनुसार निम्न बमोजिम प्रयोग गर्न सकिन्छ ।
क) पानी लाग्ने धान खेत तथा धान खेत जस्तै आलि थुनेर सिँचाई गरिने खेतहरुमा पानी लगाउदा खेतको आकार अनुसार झोल मल पानीमा खनाई खेतभरी पुग्ने गरी हाल्न सकिन्छ । यसरी मल हाल्दा पानीलाई खेतको आलीबाट चुहिन दिनु हुदैन । यो मल धान रोपेदेखि फूल फुल्ने र फल लाग्ने बेलासम्म जुनसुकै समयमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।
ख) सुख्खा खेत, पाखो बारीहरुमा खेती गरीने जुनसुकै बालीहरुमा पातबाट बिरुवाले पाउने गरी झोल मलको प्रयोग गर्न सकिन्छ । गोडमेल पछी र बिरुवामा फूल फुल्नु (बाली पसाउनु) अगाडी एक भाग झोल मलमा चार भाग पानी मिसाई स्प्रे ट्याङ्कीमा राखेर छर्दा उपयुक्त हुन्छ । आवश्यकता हेरी बालीमा फुल फुलेको (पसाएको) र फल पाकेको समय बाहेक अन्य समयमा आवस्यकता अनुसार प्रयोग गर्न सकिन्छ । पाखो बालीमा मल छर्केको २ दिनसम्म वर्षात हुनु हुदैन ।
मल बनाउन आवश्यक कच्चा पदार्थ र कच्चा पदार्थका विशेषताहरु
१. गाईबस्तुको मुत्रः यो नाइट्रोजनको स्रोत हो । यसमा नाईट्रोजनका साथै बिरुवालाई चाहिने अन्य तत्वहरुपनि पाइन्छ ।
२. गाईबस्तुको गोबरः गाईबस्तुको गोबरमा उच्च मात्रामा प्राङ्गारिक पदार्थका साथै बिरुवालाई चाहिने पोषण तत्वको मात्रा पनि धेरै रहेको हुन्छ । यसमा बिरुवाका लागि चाहिने नाइट्रोजन ३ प्रतिशत, फोसफरस २ प्रतिशत र पोटासियम १ प्रतिशतका साथै अन्य तत्वहरु पाइन्छ ।
३. खरानीः खरानी पोटास को उपयूक्त स्रोत हो । यसमा ४ प्रतिशत पोटास र २ प्रतिशत फोसफोरस, म्याग्नेसियम लगायतका पदार्थहरु रहेको हुन्छ ।
४. हरियो घाँसः हरियो घाँसमा आइरन, क्यालसियमदेखि प्रोटिनसम्म विभिन्न पदार्थहरु हुने गर्दछ । हरियो घाँसको रसले मलमा भएका ब्याक्टेरियालाई वृद्धि गर्नको लागि सहयोग गर्दछ ।
५. हड्डीको धुलो (वा लसुन प्रजातिको झार): हड्डीको धुलोमा जैविक मलको लागि चाहिने अत्यावश्यक तत्व फोसफोरस पाइन्छ । यसका अलावा यसमा क्याल्सियम पनि रहेको हुन्छ । फोसफोरसले बिरुवाको जरा पलाउन र फूलफूल्नको लागि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
६. पानीः झोलमल निर्माणका लागि पानी अत्यावश्यक तत्व हो ।
झोलमलका फाइदाहरु
यो मल बिरुवाले पात, जरा र पानीको माध्यमबाट ग्रहण गर्दछ । जसले गर्दा यो सबै प्रकारको खेतीमा उपयुक्त हुन्छ ।
यो मल रसायनिक मल अत्याधिक प्रयोग भएको माटोमा माटो सुधार गर्न र उत्पादन बढाउन समेत प्रयोग गर्न सकिन्छ ।
यसले बिरुवालाई छिटो पोषकीय तत्वहरु पुराउनको लागि सहयोग गर्दछ । यस्तो मल बिरुवाको प्रकृति हेरी प्रयोग गरेको ३ दिनदेखिनै नतिजा देखिन सुरु हुन्छ ।
यसलाई स्थानीय स्तरमै उपलब्ध सामाग्रीको प्रयोग गरेर बनाउन सकिन्छ ।
यसले खेतीपातीका लागि चाहिने जैविक तत्वहरुको वृद्धि गर्दछ । यसले मित्र जीवहरुलाई पनि आकर्षित गर्दछ जसले गर्दा खेतबारीको पर्यावरण सन्तुलन रहन मद्धत गर्दछ ।
झोलमलको बेफाइदाहरु
झोल मलका केहि वेफाईदाहरु पनि रहेका छन्
झोल मलले माटो वृद्धिको काम गर्दैन ।
झोल मलको प्रयोग एकै पटकको लागि मात्र हुन्छ । एक बाली लगाउदा प्रयोग गरेको मलले अर्को बालीको लागि काम गर्दैन ।
मात्रा नमिलेमा यसले बालीलाई नोक्सान गर्न सक्छ ।
यसको लागि कच्चा पदार्थ सबै ठाउँमा सबै प्रकारको नपाईन सक्छ । मिल्दो जुल्दो विशेषता भएको कच्चा पदार्थको पनि प्रयोग गर्न सकिन्छ ।
यस मललाई तुरुन्तै निर्माण गरेर प्रयोग गर्न सकिदैन ।
(लेखक खाना र खेतीपातीको अभियानमा संलग्न छन्)