कृषक शिववहादुर पुडासैनीको मेहनत र लगनशिलताले पाएको सफलताले धेरैका मन खिच्न सक्छ । सामान्य निर्वाहमुखि कृषि पेशा अंगालीरहेका उनी सहकारी संस्थामा आवद्ध भएपछि व्यवसायीक गाई पालनमा लागेर पाएको सफलता अहिले उदाहरणीय बन्दै गएको छ । २०६३ सालमा पुडासैनी स्थानिय साना किसान कृषि सहकारी जिलिङमा आबद्ध भए । संस्थाको समुह नम्वर ४७ का अध्यक्ष समेत रहेका उनले विगत ५ बर्षदेखि नुवाकोटकै विदुर नगरपालिकास्थित देवीघाटमा संस्थाको सहयोगमा व्यवसायीक गाई पालन सुरु गरेका छन् ।

सहकारीवाट ५ लाख ऋण लिएर २०६८ सालवाट सुरु भएको उनको देवीघाट कृषि फार्म जिल्लाकै उत्कृष्ट व्यवसायीक फार्ममा रुपमा स्थापित भैसकेको छ । यतिमात्र होइन, आत्मविश्वास, लगनशिलता र मेहनतले अघि बढ्न सकियो भने सानो सहयोगवाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण समेत पस्किरहेका छन् पुडासैनी ।

जिल्लाको जिलिङ गाविसवाट केही बर्ष पहिलानै देवीघाट झरेका भएपनि उनले निर्वाहमुखी व्यवसाय मात्र गर्दै आएका थिए । सुरुमा जग्गा भाडामा लिएर कुखुरा पालन समेत गरे । तर, राम्रो आम्दानी आएन । कुखुरापालन र अन्य व्यवसायवाट आफ्नो परिवारको नियमित खर्च धान्नै नसक्ने भएपछि उनी नयाँ कामको खोजीमा जुटे । तर कस्तो काम गर्ने र कसरी सुरुवात गर्ने भन्ने अन्योल छदै थियो । ‘परिवारको खर्च धान्नकै लागि थुप्रै मेहनत गरे, ती कामले मलाई खासै आम्दानी दिएन,’ पुडासैनी भन्छन्, ‘अनि अरुको भन्दा नयाँ काम गर्ने सोच बनाए तर त्यो कसरी गर्ने भन्ने सोचीरहेको थिए ।’ जब उनी साना किसान कृषि सहकारीको सम्पर्कमा पुगे तव उनलाई व्यवसायीक कृषि फार्म संचालनको जोश जाग्यो । संस्थाले आफ्ना सदस्यका लागि व्यवसायीक काममा ऋण प्रवाह गर्ने भएपछि उनी पनि हाैिसएका रहेछन् । सहकारीवाट केही ऋण लिएर व्यवसाय गर्ने उनको आँटले साच्चिनै मुर्तरुप पायो । सोही अनुसार पाँच बर्ष अघि उनले आफुसंग भएको केही रकम र संस्थाको सहयोगमा काठमाडौंका विभिन्न स्थानमा गएर ५ ओटा दुहुना गाई खरिद गरे । तीनै गाई ल्याएर देवीघाटमा फार्म संचालन सुरु गरे । पाँचवटा गाईवाट दैनिक १५ लिटर दुध बिक्रि गर्न सुरु गरेका पुडासैनीले त्यो समय दैनिक प्रति लिटर ४० रुपैयाँमा दुध विक्रि गरेको सुनाए । ‘सुरुमा त धेरै आम्दानी लिन सकिएन तर मेहनत गर्न छोडिएन पनि’, पुडासैनी व्यवसाय सुरु गर्दामा दिन सम्झन्छन्, ‘विस्तारै गाई संख्या बढाउँदै लगे र परिवारका सदस्यको समेत भरपुर साथ पाएकाले आम्दानी बढ्दै गयो ।’ पाँचवटा वाट सुरु गरेका उनका फार्ममा अहिले साना ठूला गरि १८ ओटा गाई छन् । ती मध्ये केही गाई एक लाख २० हजार रुपैयाँसम्म लगानी गरेर खरिद गरेका छन् ।

केही बर्ष पहिले २० आना जग्गा समेत गरिद गरेर त्यही जग्गामा गाई पालन गरिरहेका पुडासैनीले अहिले पनि दैनिक ८० लिटर दुध विक्रि गर्दै आएका छन् । सुख्खा मौसममा घाँसको अभाव भएकाले उत्पादन कम भएपनि साउन भदौका महिनामा उनले दैनिक एक सय ५० लिटर सम्म दुध विक्रि गरेको सुनाए । प्रति लिटर ५० रुपैयाँ भन्दा वढी मुल्यमा दुध विक्रि गर्दे आएका उनीसंग ९ ओटा दुहुना गाई छन् । जर्सि जातका गाई पालन गरिरहेका उनका गोठमा केही व्याउने र केही कोरला गाई छन् । सात जनाको परिवार रहेको उनको प्रमुख आम्दानी भनेकै अहिले त्यही गाई पालन व्यवसाय हो । गाईलाई दैनिक दानापानी, उपचार खर्च, गोठ सुधार लगायत एक जना कर्मचारीलाई मासिक १० हजार तलव दिएर अन्य घरायसी खर्च कटाएरपनि उनले मासिक ५० हजार भन्दाबढी आम्दानी गर्ने गरेका छन् । कामको खोजीमा मलेसिया र खाडीका विभिन्न मुलुक पुगेका युवाको भन्द्या आफ्नौ आफ्नो आम्दानी बढी रहेको उनको बुझाई छ । ‘सबै खर्च कटाएर मासिक ५० हजारभन्दा बढी आम्दानी हुन्छ’, उनी भन्छन्, ‘यो कमाई विदेशको भन्दा राम्रो हो ।’ त्यही कमाइवाट उनी सहकारीमा नियमित वचत समेत गर्ने गरेका छन् ।

सामान्य कृषकवाट व्यवसायीक फार्म संचालक बनेका पुडासैनीले अहिलेसम्म २० लाख रुपैयाँ लगानी गरिसकेका छन् । उत्कृष्ट गाईपालक कृषकका रुपमा पोखरा, लुम्विनी, गोर्खा लगायतका स्थानमा समेत व्यवसाय अवलोकनको अवसर पाएका उनलाई अहिले जिल्ला पशु सेवा कार्यालय नुवाकोटले गोठ सुधारका लागि एक लाख ५० हजार अनुदान र अन्य प्रविधिक सहयोग उपलव्ध गराएको छ । यस्तै, उनी आवद्ध साना किसान सहकारीले पनि प्राविधिक सहयोग दिने गरेको पुडासैनी बताउँछन् । स्थानियस्तरमै प्राविधिक सहयोग पाएपनि उन्नत जातका गाई र तीनलाई आवश्यक घाँसको पर्याप्तता नहुँदा भने उनलाई व्यवसाय संचालनमा केही कठिनाई रहेको उनी बताउँछन् ।

गाई पालनकै कमाइवाट देवीघाटमा जग्गा खरिद गरेर पक्की घर समेत निमार्ण गरिरहेका छन् उनले । व्यवसायीक काम सुरु गरेको छोटो समयमै राम्रो आम्दानी गरेका उनी विदेसिने युवालाई समेत स्वदेशमै केही गर्न सुझाव दिन थालेका छन् । उनी आबद्ध साना किसान कृषि सहकारी जिलिङका व्यवस्थापक सन्तलाल चित्रकार पनि पुडासैनीको लगनशिताप्रति खुलेरै प्रशंसा गर्छन् । ‘हामीले गरेको सहयोगवाट पुडासैनीले प्राप्त गरेको सफलता प्रशंसा गर्न लायक छ,’ चित्रकार भन्छन्, ‘अहिले हामी कृषकलाई ऋण लगानीका अतिरिक्त विमा लगायत प्रविधिक सहयोग गरिरहेका छौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर