गत पुसमा ठेक्का पाइ भदौ लाग्दासम्म मल ल्याइ नपुर्याउने दुई ठेकदार कम्पनीको ५/५ करोड धरौटी सरकारले जफत गर्ने भएको छ । दुवै कम्पनीलाई कालोसूचीमा राख्न समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ ।
आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर साे निर्णय गरेकाे हाे।
संस्थानले गत पुसमा मल आपूर्तिका लागि विवादित शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो ।मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिसक्दा पनि आपुर्ति गर्न नसकेका कारण दुवै कम्पनीलाई कारबाही गर्न लागिएको हाे।
मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीकाे कम्पनि हाे भने , अर्काे होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् । ठेक्का सम्झाैतामा राजनैतिक हस्ताक्षेप हुदाँ समस्या आउने सराेकारवाला बताउँछन्।
मलको आपूर्ति र वितरण दुवैमा गडबडी हुने गरेको निष्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुवै ठेकदारलाई कारबाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको हाे।
विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निष्कर्ष छ। अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीय तह (नगरपालिका/गाउँपालिका) मार्फत किसानसमक्ष पुर्याउने गरी कृषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको कृृषि मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ठेकदारलाई कारबाही गर्ने र सहकारीको सिन्डिकेट तोड्ने निर्णयसँगै मल माफियाहरूको चलखेल समाप्त हुने मन्त्रालयको दाबी छ ।