रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो, सरकारले पहुँचका आधारमा क्षमताहीन कम्पनीलाई आपूर्तिको ठेक्का दियो ।
ठेक्का पाएका कम्पनीलाई कोभिड–१९ को विश्वव्यापी संक्रमण झन् ठूलो बहाना भयो । यसै सन्दर्भमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालसँग गरिएको कुराकानीको सम्पादित अंश : साभार कान्तिपुर
बंगलादेशसँग मल पैंचो माग्नुभएको थियो । त्यसको भोलिपल्टै जताततै मल माग्ने किसानको घुइँचो देखियो । के कारणले यस्तो समस्या आयो ?
किसानले करिब २० दिनदेखि मल पाएका छैनन् । अहिले सबैलाई मल चाहिएको छ । हामी कसरी मल ल्याउने भनेर लागिपरिरहेका छौं । कोलकातादेखि वीरगन्जसम्म ४/५ दिनको फरकमा आउने ट्रेन हिजोआज साढे २ दिनमा आइरहेका छन् । कोलकाताको महावाणिज्य दूतावास, हामी र यहाँको ठेकेदार निरन्तर लागिपरिरहेका छौं । हिजोआज अलि चाँडै मल आउन थालेको छ । किसान एकैपटक मल लिन आए । मागभन्दा बढी पूर्ति गर्न नसक्दा यो भीड देखा परेको छ ।
एक–दुई साताभित्र कति मल आउला ?
१५ दिनभित्रमा ३२ हजार टन मल भित्र्याउने कोसिस गरिरहेका छौं । त्यसपछि बंगलादेशबाट पैंचो मल भित्र्याउन लागिपर्छौं ।
सधैं मल अभाव हुनाको कारण के हो ?
म विद्यार्थी हुँदादेखि नै मल अभाव भनेर सुन्ने गरेको थिएँ । कोभिड–१९ को संक्रमणकै कारण मल अभाव भयो भन्दा सामान्य मान्छेले पत्याउने अवस्था छैन । यसपटक हामीले ५ लाख टन मल ल्याउने योजना बनायौं । पुसमै नै टेन्डर प्रक्रिया सुरु गरियो । असारभित्र करिब १ लाख टन मलका लागि बन्दोबस्त भएको थियो । साढे ३ लाख टन आउनुपर्थ्यो । त्यहीअनुसार टेन्डर पनि सुरु भयो । तर टेन्डर सुरु भएसँगै कोभिड–१९ पनि सुरु भयो । मल कारखाना, जहाज, बन्दरगाह बन्द भए । प्रतीतपत्र (एलसी) खोलिदिने बैंकहरू बन्द भए । सम्झौता भएपछि मल आउँछ भन्ने लाग्यो । अब ठेकेदारले ल्याउँछन् भन्ने सोचेका थियौं । ठेकेदारहरूले त्यो अपेक्षा पूरा गरिदिएनन् ।
अघिल्लो वर्ष मल नल्याउने कम्पनी शैलुङ इन्टरप्राइजेजलाई नै यसपालि पनि किन ठेक्का दिनुभयो ?
बोलकबोलमा सबैभन्दा कम प्रस्ताव गर्ने कम्पनीसँग ठेक्का सम्झौता गर्नु भन्ने हाम्रो कानुनी व्यवस्था छ । बढी कबोल्नेलाई दिनु हुँदैन भन्ने छ । शैलुङ र होनिको भन्ने दुई कम्पनीले कम कबोल गरे । ती कम्पनीहरू मल ल्याउन ठेक्का हाल्ने पहिलो नेपाली सप्लायर्स हुन् । अहिलेसम्म विदेशी कम्पनीले ठेक्का पाउने गरेका थिए । नेपाली कम्पनी हुन्, ल्याउलान् भन्ने लागेको थियो, ल्याइदिएनन् ।
शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । उनको राजनीतिक पहुँच छ । त्यसका आधारमा ठेक्का पाएको र समयमा नल्याउँदा कारबाही नभएको भन्ने टिप्पणी छ नि ?
उहाँ कसको घरबेटी हो या होइन भन्ने कुरा नियम/कानुनले चिन्दैन । हाम्रो नियमअनुसार जसले सबैभन्दा कम कबुल गर्छ, त्यसैलाई ठेक्का दिनुपर्छ । साउनको सुरुमै मल ल्याउने आश्वासन शैलुङ र होनिकोले दिएका पनि हुन् । उनीहरूलाई मल ल्याउन दिएको समय भदौ २० गतेसम्म छ । त्यतिबेलासम्म मैले केही भन्न मिल्दैन ।
ल्याउने छाँटकाँट त देखिँदैन नि ?
हो, ल्याउने छाँटकाँट छैन । सम्झौताबमोजिम ठेकेदारहरूले मल कोलकातामा कहिले आइपुग्छ, वीरगन्ज कहिले आइपुग्छ, पहिले नै बताउनुपर्ने थियो । कुनै सूचना दिनुभएको छैन । तर पनि वीरगन्जमा मल दिने अन्तिम समय भदौ २० गते हो । त्यति बेलासम्म पर्खिनुपर्छ । त्यसपश्चात् जतिसुकै आलोचना भए पनि म केही कदम चाल्नेछु ।
कोभिड–१९ को असहज परिस्थितिले ल्याउन सकिएन भनेर निवेदन हाले समय थपिएला ?
त्यस्तो समय उहाँहरूले पर्याप्त लिइसक्नुभएको छ । अदालतले समय दिएको छ । कोभिड सुरु हुनेबित्तिकै सरकारले पनि समय दिएको छ । कृषि सामग्री संस्थानले पनि समय दिइसकेको छ ।
त्यसो भए २० गतेपछि के हुन्छ ?
समय थप गर्न सम्भव छैन । मन्त्रीहरू विवादमा पर्नुको एक प्रमुख कारण ठेकेदारहरूलाई अनावश्यक समय थपिदिने विषय पनि रहेछ । अनुचित तरिकाले समय थपेर विवादमा परिन्छ भन्ने बुझेको छु । विवादमा पर्ने कुरा म गर्दिनँ । किसान र कृषि कर्ममा देखिएको यत्रो संकटमा म अन्यथा सोच्न सक्दिनँ ।
मलचाहिँ कहिलेबाट किसानले सहजै पाउलान् ?
हरेक गाँज धानसँग किसानको भावना जोडिएको हुन्छ । जुन कुरा म आफैंले किशोर अवस्थासम्म अनुभव गरेको छु । मल नपाएर किसानले दुःख पाउनुभएको छ । मन्त्रीले बन्दोबस्त गरेन भन्ने कुरालाई म हार्दिकतापूर्वक बुझ्छु । आलोचनात्मक रूपमा टिप्पणी गर्नेहरूले पनि व्यवस्थामा सुधारको अपेक्षा राख्नुभएको हो । अहिले पर्यटन, उद्योग, व्यापारमा ठूलो समस्या आएको छ । साना किराना पसल, काम गरेर खाने सबै क्षेत्र बन्द छन् । सबैको अपेक्षा कृषिमा छ । आग्रहभन्दा माथि उठेर गरिएका कुरा, माग, दाबीलाई मैले सम्मान गर्नुपर्छ ।
यो परिस्थितिले समाजमा अनेक खालका कुण्ठा पनि जन्माएको छ । आफूले भनेजस्तो व्यापार व्यवसाय भइरहेको छैन । त्यसकारण ती कुण्ठा सबै कृषिमा पोखिएका छन् । सबैतिर मरेका आशाहरू यहाँ केही हुन्छ कि भनेर ठोक्किएका छन् । तर बुझ्नुपर्ने कुरा अहिले महामारी छ । समस्या संसारले भोगिरहेको छ । यसलाई हामीले झेलेर जानुपर्छ । हामीले आगामी १५ दिनभित्रमा ३२ हजार टन मल भित्र्याउने छौं । त्यसको १५ दिनपछि बंगलादेशको मल ल्याउँछौं । केही कम्पनीले समेत मल ल्याउँदै छन् । त्यसपछि सहज हुनेछ ।
जनअपेक्षाअनुसार काम गर्न सकिन भन्नेचाहिँ कहिलेकाहीँ लाग्छ कि लाग्दैन ?
हामीसँग ठेकेदारहरूले मल ल्याउँछौं भनेर कबुल गरे । असार अन्तिमसम्म, साउनको पहिलो सातासम्म पनि मैले आशा गरिरहें । त्यो मेरो अलि अव्यावहारिक र भ्रम थियो भन्ने लाग्छ । म पनि कहीँ मेरो गल्ती त भएन भन्ने हिसाबले समीक्षा गर्छु ।
बंगलादेशबाट मल ल्याउनेबारे अलि अगाडि सोचेको भए समस्या हुन्थेन होला भन्नेचाहिँ कताकता लाग्छ । भारतबाटै ल्याउन सकिन्छ कि भनेर हेर्दाहेर्दै १५/२० दिन ढिला भयो । मलका लागि यस वर्षबाट बजेट बढाएका छौं । करिब दुई अर्ब रुपैयाँ बढाएका छौं । टेन्डर सबै समयमा नै गरेका छौं । -कान्तिपुर