
कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा घर बाहिर ननिस्कन प्रशासनले अनुरोध मात्र गरेको छैन, भेटे कारर्वाहीसमेत गर्ने चेतावनी दिएको छ । उता, यहीबेला किसानलाई खेतमा हाल्ने रासायनिक मल लिनैपर्ने चटारो छ ।
मलका लागि सहकारीहरुमा लामो लाइन र भीडमा बस्नु किसानको बाध्यता हो । तर, यो भीडले कोरोनालाई गिज्याइरहेको छ ।
पश्चिम चितवन र पूर्वी चितवनका विभिन्न सहकारी अगाडि हिजोआज यस्तै ठूला भीडहरु देखिन्छन् । बुधवार पनि पश्चिम चितवनको गीतानगरस्थित सर्वोदय बहुउद्देश्यीय सहकारीमा सयौं किसानहरू कोरोनाको त्रास मनमा लिएर मल लिने लाइनमा बसेका छन् । ठेलमठेल भीड गर्दै सहकारीले मल बाँडिरहेको दृश्यले संक्रमणको अवस्था भयावह बनाउन सक्ने त्रास जन्माएको छ ।
सर्वोदय बहुउद्देश्यीय सहकारीले ११० बोरा मल प्रतिकिसासन १० किलोको दरले ५५० जनालाई वितरण गरेको जनाएको छ । मल लिन आएका झण्डै ५ सयभन्दा बढी किसान यसै फर्किएको सहकारीका व्यवस्थापक राधाकृष्ण आचार्यले जानकारी दिए ।
चितवन जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय नजिक पुगेको छ । चितवनमा सबैभन्दा बढी संक्रमण भरतपुर महानगरपालिकामा छ । सबैजसो वडा संक्रमणबाट मुक्त छैनन् ।
‘किसानहरुलाई सकभर भिड नगरौं त भनेको हो, तर सकिएन,’ व्यवस्थापक आचार्यले भने, ‘आवश्यकताभन्दा ठूलो कुरा केही रहनेछ, रोगभन्दा ठूलो भोक रहेछ ।’
उनले मल पाए फेरि आइतबार वा सोमबारतिर बाँकी किसानलाई विक्री गरिने बताए । यस्तो भिडभाडका साथ बाँड्दा कोरोनाको जोखिम हुँदैन त भन्ने प्रश्नमा व्यवस्थापक आचार्यले भने, ‘जोखिम त हुन्छ, डर त छ नि, तर के गर्नु नगरी नहुने पनि छ ।’
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मल बाँड्दा भौतिक दूरी कायम गरेर मात्रै बाँड्न सहकारीहरुलाई निर्देशन दिइएको भए पनि त्यसको पालना नभएको बताए ।
सकभर पाँच-पाँच किलोको पोका बनाएर किसानलाई बोलाउँदै दिनुस् भनेका हौं, तर उहाँहरुले त्यसो गरेको पाइएन,’ ढकालले भने, ‘जतिसुकै प्रयास गरे पनि सकिएन, कोरोनाको जोखिम त हुने नै भयो ।’
चितवन जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ । यतिबेला किसानका खेतमा धान पसाउने बेला भएको छ । अबको १५ दिनमा धान निस्कन्छन् । त्योभन्दा अगाडि नै मल हाल्न सके उत्पादन राम्रो हुने थियो भन्ने आशा किसानको छ । तर, मल पाउन भने कोरोनाको डर लिएर महाभारत नै लड्नुपर्ने जस्तो अवस्था छ ।
आपूर्तिमै समस्या
हरेक वर्ष मलको आपूर्ति देशभरकै समस्या बन्दै आएको छ । तर सरकार हरेक वर्ष मल अभावको समस्या समाधान गर्न तत्परता देखाउँदैन । सरकारले किसानहरुको मागभन्दा निकै कम मात्रै मल अनुदानमा ल्याउने गर्छ ।
कृषि मन्त्रालयले देशभर साढे ७ लाख मेटि्रक टन मलको माग रहेको बताउँदै आएको छ । तर, मन्त्रालयले पाँच लाख कार्यक्रम बनाउँदै आएको छ ।
जेठ १५ मा बजेट आए पनि पास भएर सरकारी प्रकृया अनुसार मल किन्न समय लाग्छ । तर, यही समयमा नै किसानका लागि मल चाहिन्छ । -अनलाइनखबर