BREAKING
न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार | कृषि वनस्पतिशास्त्र विषयको स्नातकोत्तर पाठ्यक्रम परिवर्तनको लागि आधारभुत छलफल सम्पन्न | दिगाे र पर्यावरणीय मैत्रि खेतीपाती राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न |

–दिपेश नेपाल, सरोज खतिवडा
मानिसले प्रकृतिमाथि गरेको दोहन र हस्तक्षेपले वातावरण वा पर्यावरणमा ठुलाठुला असरहरू देखिदै आएका छन् । खानी रित्तिदै छन्, वन मासिदै छ, माटो विषात्त हुदै छ, पानी प्रदुषित बन्दै छ, हावा बिग्रदै छ, विश्वको तापमा बृद्धि भएको छ, जलवायु परिवर्तन भएको छ, खानेकुराको अभाव बढ्दै गएको छ । प्राकृतिक विपत्ति लगायतका संकटहरु थपिदै गएका छन् । केहि प्रष्ट उदाहरणको रूपमा लिदा, अहिले कोभिड महामारीको मारमा विश्व परिरहेको छ । पछिल्लो समय क्यानडा र अमेरिकामा बढेको अत्याधिक गर्मीको कारण ज्यान गुमाउनेको संख्या सयौ पुगेको छ । अर्को भाषामा भन्दा समग्रमा हामी वातावरणीय तथा पर्यावरणीय प्रदुषणबाट पर्ने असरहरु भोगीरहेका छौ । माटो र प्रकृतिसँगै विभिन्न विरुवा तथा प्राणीका प्रजाती नष्ट हुदै छन् भने प्रकृति बिगारे वापत संसारका मानिसहरुको दैनिकीमा पनि झनझन जटिल समस्याहरू थपिदै गएका छन् । पर्यावरण र प्रकृति असन्तुलन हुनका धेरै कारणहरू मध्य माटो र खेतीपातीमा भएको खराब प्रयोग पनि हो । यस कारण हाम्रो खेती अभ्यासबाट परेको र पर्ने असर कम गर्न, अहिलेको खेतीप्रणालीलाई फेर्न आवश्यकता छ ।

जनवार र अन्नको घरेलुकरणसँगै आधुनिक मानव सभ्यताको सुरुवात भएको हुँदा मानिसको जीवनमा कृषिको स्वभाविक महत्व छ । सुरुवाती समयमा नरिवल, ओखर लगायतका अन्य कन्दमुल खोजेर जीवन निर्वाह गर्ने मानिसले आजसम्म आउदा कृषिमा धेरै प्रयोग र अभ्यास गरिसकेको छ । अहिलेको कृषि प्रणाली हेर्दा मुलत दुई प्रकारको कृषि प्रणाली देख्न सकिन्छ । एउटा रसायन, विषादी, हाईब्रिड बीउ प्रयोग गरेर गरिने व्यवसायिक तथा औधोगिक खेतीपाती । अर्को जैविक मल, रैथाने ज्ञान, रैथाने बीउ प्रयोग गरेर गरिने प्रकृतिमैक्री साँस्कृतिक खेती ।

सन् १९६० मा डा. नोर्मान ई. बोर्लाङले नोरिन जिनको आविष्कार गरेसँगै, हरित त्रान्तीको फोहोरा विश्वभर फैलियो । हरित क्रान्तिले मुख्यतः उत्पादन बृद्धि गरेर तत्कालिन रूपमा एसियाली देशहरूले भोगिरहेको भोकमरीको अन्त्य गर्दै बढ्दो जनसङ्ख्याको भविस्यमा आउने खाद्य संकटलाई पनि सम्बोधन गर्‍यो । यसले करोडौ भोको पेट झरेर लाखौको ज्यान बचायो । तर हाम्रो जस्तो देशमा हरित क्रान्तिको नाम मात्र आयो, काम आएन । हरित त्रान्त्तिको लहरसँगै नेपालमा पहिले गहुँ, त्यसपछि धान र अन्य बीउबिजनको हाईब्रिड भित्र्याइयो । बीउबिजनसँगै उत्पादन बढाउन आवश्यक रसायनिक मल र विसादी पनि भित्र्याइयो । मकै र गहुँको उत्पादन क्षेत्र बढाउन, हाइब्रिड बीउबिजनको र रसायनिक मलको प्रयोग बढाउने सरकारी लक्ष्य तय गरियो । सोहि अनुकुल कृषि प्रसारलाई हरेक तहमा खटाइयो । कृषि प्रसारहरू तलसम्म नयाँ सुचना त लिएर गए तर त्यो सुचना अपुरो थियो । रसायनिक मलको प्रयोगले उत्पादन बढ्ने भनियो तर कति मल प्रयोग गर्ने सिकाइएन । विषादीको प्रयोग कुन बेला र कति मात्रामा गर्ने भनेर सिकाइएन । यसरी समग्र नेपालको कृषि क्षेत्र ठुलो मारमा पर्यो । बीउबिजन र मलको परनिर्भता ह्वात्तै बढ्यो । रसायनिक मल र विषादीको जथाभाबी प्रयोगले माटोको उर्बराशक्तिमा हस आयो । रैथाने ज्ञान, बीउ र स्थानीय उत्पादन खाने अभ्यास हराउँदै गए । यसरी मानिसहरू थाहा नै नपाउदै संकटमा फस्न बाध्य भएका छन् ।

अर्को तर्फ, पर्यावरणिय खेती प्रणाली भन्नाले स्थानीय स्रोत साधनको प्रयोग गरेर माटोको सुरक्षा गर्ने, रैेथाने खेति प्रणालीलाई परिस्कृत गर्दै अगाडि बढ्ने, जैविक विविधतको संरक्षण गर्ने खेती प्रणाली भन्ने बुझिन्छ । जुन खेती प्रणाली दिगो, प्रकृतिमैत्री र विज्ञानमा पनि आधारित हुन्छ । बहुबाली, एकीकृत शत्रुजिव व्यवस्थापन, माटोको उर्वराशक्ति व्यवस्थापन गर्दै यसले दिगो कृषिलाई आत्मसात गर्दछ । यस्तो खेती प्रणालीले हाल जलवायु परिवर्तनले उत्पन्न गरेका समस्यासँग जुध्दै आम किसानको प्रकृति र खाद्यन्न बीच उत्तम सम्बन्ध स्थापित गराउदै कृषि उत्पादन र खाद्य संकृतिको संरक्षण पनि गर्ने भएकोले आज प्रयावरणीय कृषि अपरिहार्य बनेको छ । यो, हामीले नै विगारेको रैथाने ज्ञान प्रणाली पुनस्थापित र परिमार्जन गर्दै उत्पादन क्षमता र आवश्यकता बीच सामजस्यता कायम गर्दै माटो र पर्यावरण भावी पुस्ताको लागि सुरक्षित राख्नु पनि हो । अभ्यासको नजरबाट भन्दा पर्यावरणीय खेती कुनै असम्भव र नयाँ कुरा पनि होईन । हिजोका दिनमा लिम्बुहरू, किरातहरू, तामाङहरू थारुहरू, राजवंशीहरू लगायतका आदिवासीहरूले गर्दै आएका खेती प्रणालीलाई जर्गेना र परिस्कृत गर्दै स्रोतहरूको उचित प्रयोग सहितको उत्पादन बृद्धिको प्रकृतिमैत्री अभ्यास गर्नु हो ।

पर्यावरणीय कृषि प्रणाली किसानहरूको आत्मनिर्भर र आत्मसम्मानबाट विकास हुने कृषि प्रणाली भएकोले यस्तो खेतीपाती लाई अझ आम मानिसहरूको तर्फबाट, किसानहरूको तर्फबाट स्थापित गर्न पर्ने आन्दोलनको रूपमा लिन र विकास गर्न आवश्यक छ । संसारमा धेरै ठाउँ र देशहरूछन्, जुन मानव जीवन तथा समग्र प्रकृतीको बिरुद्धमा हने खेतीपातीका अभ्यासलाई निरुत्साहन गरेर पर्यावरणको रक्षा गर्दै कृषिमा आत्मनिर्भर भएका छन् । उदाहरण लिदा क्युवाका किसानले जैविक खेतीको माद्यमबाट औसत प्रतिहेक्टरमा धेरै धान उत्पादन गर्दछन् ।

अन्त्यमा हाम्रो जस्तो धेरै मानिसहरू प्रत्यक्ष वा परोक्ष रूपमा कृषिमा लागेको देशमा, पर्यावरणको समस्या अझ पेचिलो र हेर्न नखोजिएको सवाल बन्दै छ । प्रकृतिको स्रोतमाथिको विवेकहीन दोहन तथा विकास,समृद्धि र आधुनिकताको नाममा भएका गलत अभ्यासबाट अगामी दिनमा झनै समस्याहरू थपिदै जानेछन् । तेस्रो विश्व भएको नाताले देशमा उच्च रूपमा औधोगिक विकास हुन नसक्दा विश्व औधोगीकरण तथा पुँजीवादको कारणले हुने पर्यावरणको हानीमा हाम्रो भूमिका थोरै छ । यद्यपी अहिले अस्वभाविक रूपमा खनिएका सडक तथा केही उद्योगधन्दा र हाम्रो माटोमा भएको अस्वस्थ प्रयोगले विभिन्न किसिमका जटिल समस्याहरू हामी आफैले जन्माउदै र भोग्दै छौ । जुन भोलीको दिनमा गुणात्मक रूपमा बढ्दै पनि जानेछ । यसरी माटो र पर्यावरण विग्रदै जानुको मुख्य कारण भनेकै खेतीपातीमा विकास भएको गलत अभ्यास पनि हो भन्दा फरक पर्दैन । जसमा रसायनिक मलको अन्धधुन्द र अत्याधिक प्रयोग, किटनासक, रोगनासक जस्ता विसादीको प्रयोग, आणुवांशिकी बीउहरूको बढ्दो प्रयोग, आधुनिकीकरण तथा व्यवसायिकीकरणको नाममा एकल खेतीको थालनी नै मुख्य कारणहरू हुन । यसतर्फ बेलामै सचेत भएर पर्यावरणीय तथा दिगो कृषि तिर नलाग्ने हो भने भोली आउने प्राकृतिक तथा मानव श्रृजित विभिन्न खाले समस्याहरु भोग्न तयार हुनुको विकल्प छैन ।
(उब्जनीको यस स्तम्भमा शृंखलाबद्ध रूपमा पर्यावरणीय खेती सम्बन्धि लेखहरु प्रकाशित हुनेछन्। आगामी अङ्कमा नेपालको कृषिलाई पर्यावरणमैत्री बनाउन भएका नितीगत व्यवस्थाहरूमा चर्चा गरिनेछ)
लेखकहरु मानवशास्त्र र कृषिको विद्यार्थी हुनुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित ख