हिन्दुहरुको महान चाड बडादशैँ अन्तरगत घटस्थापनाको दिन राखिएको जमरा दशैँको दिन टिकासँगै लगाउने गरिन्छ। धर्म र संस्कृतिले उपयोगी मानेको कुरालाई समाजमा विशेष मान्यता दिइन्छ। घटस्थापनाको दिन छरिएको जौको जमराको साँस्कृतिक महत्व त छ नै वैज्ञानिक दृष्टिकोणबाट पनि निकै महत्वका साथ हेरिने गरिन्छ।
प्रकाश नआउने स्थान र शुद्ध माटोमा उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा सम्वृद्धिको प्रतीक मानिन्छ। जौलाई अँध्यारो ठाँउमा राख्दा जमराको गुण अझ राम्रोसँग विकसित हुन्छ। हिजोआज कतिपयले मकै तथा गहुँको जमरा राख्ने गरेतापनि जौको जमरालाई नै शुद्ध मानिन्छ। जमरा पुरुषको कान वा टोपीमा सिउरीदिने तथा महिलाको बाटिएको केशमा राखिदिने चलन छ। कसैले भने दशैँको टिकासँगै जमराको माला बनाएर पनि लगाँउछन्।
वैज्ञानिक दृष्टिकोणले उपयोगी मानिएको जौको जमरामा कार्बोहाइड्रेट, प्रोटीन तथा विभिन्न भिटामिनहरू प्रशस्त मात्रामा पाइन्छ। जमरामा पाइने पौष्टिक तत्वले शरिरलाई निकै लाभदायक हुने हुँदा पछिल्लो समय यसको जुस सेवनतर्फ आकर्षण बढ्दो छ। जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढिहुन्छ र विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायतका बहुसंख्यक रोगलाई उपयोगी हुने चिकित्सकहरू बताउँछन्। त्यस्तै जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गड्बडी, थाइराइड, र नसासम्बन्धी रोगका विरामीलाई लाभ मिल्छ। गाँउघरतिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आँउदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ।
यसरि जौको जमरा धार्मिक र पौराणिक साथसाथै वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण रहेको छ।