– रेवती
सामान्य बुझाईमा कृषि सम्बन्धि दिईने प्राबिधिक र व्यावहारिक ज्ञानलाई कृषि शिक्षा भनिन्छ । कृषि शिक्षा भूगोल र समय सापेक्ष हुन्छ । यो सिक्ने र सिकाउने बीचको अन्तरसम्बन्धमा आधारित हुन्छ । तर करिब ६० प्रतिशत जनसंख्याको दैनिकी निर्भर रहेको प्रणालीसंग सम्बन्धित बिषयलाई यति सरलीकृत गर्न पक्कै उपयुक्त हुदैन । कृषि शिक्षाले नेपालमा किसानहरुको जीवन-दर्शन र सामाझिक व्यक्तित्वमा पनि प्रभाव पार्ने हुनाले यो बहुआयामी जीवनोपयोगी शिक्षा हो ।
कृषि शिक्षाको महत्व बुझ्नु भन्दा अगाडी त्यसको आवश्यकता के छ भनेर बुझ्नु आवस्यक हुन्छ । आर्थिक सर्वेक्षण ०८१/८२ अनुसार नेपालको ६० प्रतिशत जनसंख्या कृषिमा आवद्ध छन् । मात्रै कृषि क्षेत्रबाट करिब २४ प्रतिशत जी.डी.पी.मा योगदान छ । तर आधा भन्दा धेरै जनसंख्या आबद्ध रहेको कृषि क्षेत्रको आर्थिक योगदान निकै कम रहेको छ । प्रतेक बर्ष कृषि क्षेत्रबाट प्राप्त हुने कुल ग्राहस्त उत्पादन घट्दै गएको देखिन्छ । यहि घट्दै गएको कुल ग्राहस्त उत्पादन उकास्ने कृषि शिक्षाको पहिलो काम हो ।
कृषि शिक्षाले मुख्यतया कृषि क्षेत्रमा संग्लग्न हुने दक्ष जनशक्तिको उत्पादन गर्छ । उत्पादन लागत घटाउन, प्रबिधिको विकास गर्न, कृषि क्षेत्रलाई व्यावसायिक क्षेत्र बनाई किसानहरुलाई स्वावलम्बी बनाउन, किसानको समस्या पहिचान गरि त्यसको समाधानको लागी खोज र अनुसन्धान गर्न, ग्रामिण क्षेत्रमा हुने बसाई सराई रोक्न नयाँ पुस्तालाई कृषि क्षेत्रमा आउन प्रोत्साहन गर्न, उपभोक्ताको खाद्य सुरक्षाको सुनिश्चित गर्न, र नीतिगत रुपमा किसानले भोग्नु पर्ने समस्याको समाधान गर्न यिनै दक्ष जनशक्तिको ज्ञान र शिपको आवश्यकता पर्छ । कृषिमा टेकेको ग्रामिण अर्थतन्त्रलाई बलियो बनाई कुल ग्राहस्त उत्पादनमा कृषि क्षेत्रको योगदान बलियो बनाउन सबै भन्दा मुख्य भूमिका कृषि शिक्षाकै हुन्छ । तर के हामीले खोजेको कृषि शिक्षा यहि मात्रै हो ?
हामीले बुझेको कृषि शिक्षाको महत्व पनि पाठ्यक्रमबाट आयतित शब्द भन्दा नयाँ थपिने देखिदैन । कृषि शिक्षाको महत्व समय र क्षेत्र/भुगोल सापेक्ष हुन्छ । नेपालमा देखिएको आवस्यकता र महत्व, अरु देश भन्दा फरक छ । अत्याधुनिक प्रबिधिको विकास गरि उत्पादन बढाउने कुरा हाम्रोमा अझै प्रश्न योग्य छ । हाम्रो जस्तो कम आय हुने किसानहरुले ती प्रबिधिहरु प्रयोग गर्ने क्षमता भन्दा माथिको कुरा हुन्छ । नेपालमा कृषि शिक्षाले त्यस्ता प्रबिधिहरुलाई स्थानीयकरण गर्दै, किसानकै ज्ञान र शिपमा आधारित दिगो र स्वप्रचालित कृषि प्रणाली बनाउन सहयोग गर्छ । त्यसैले किसानहरुलाई स्वावलम्बी र आत्मनिर्भर बनाउदै जाने कुरा कृषि शिक्षा बिना सम्भव छैन । नेपालको ग्रामिण क्षेत्रमा देखिएको पलायनले कृषिमा आधारित अर्थतन्त्र दिनदिनै खस्किदै गएको देखिन्छ । अहिले प्रतेक स्थानीय निकायहरुमा प्राबिधिक बिद्यालयहरुले माध्यमिक तहदेखि नै कृषि बिषय पढाइ रहेका छन् । ग्रामिण पलायन रोक्न गाँउमै दक्षजनशक्ति उत्पादन गरि कृषि क्षेत्रलाई व्यवशायिक बनाउन कृषि शिक्षा निर्णायक हुन्छ ।
नेपालको कृषि सेवाले किसानको आवस्यकता पुरा गरेको पाईदैन । यो झन्झटिलो छ र सबै किसानको पहुँचमा आउन सकेको छैन । कृषि सेवालाई किसानहरुमा माझ पहुँच पुर्याई, वास्तविक समस्याको पहिचान गर्ने र समस्यामा केन्द्रित भएर कार्यक्रम तर्जुमा गर्ने दक्ष-जनशक्ति कृषि शिक्षाले उत्पादन गर्छ । नीतिगत रुपमा किसानहरुको माग सम्बोधन गर्न, कृषि सेवामा किसानको भरोसा र पहुँच बढाउन, भुईतहमा रहेर किसानहरुको समस्याको समाधान गर्न, व्यवहारमुखी कार्यक्रम तर्जुमा गर्न, र समग्र खेतीपातीमा संग्लग्न जनसंख्यालाई कम्तिमा मध्यम आयको जीवन जिउन सक्षम बनाउने निर्णायक भूमिका कृषि शिक्षाको हुन्छ ।
वर्तमान कृषि शिक्षाको अवस्था
कुनै निश्चित पाठ्यक्रम, त्यहि पाठ्यक्रममा आधारित बनाईएको नोट र त्यहि नोट पढेर दिईने जाँच, हाम्रो कृषि शिक्षाको विगत र वर्तमान यहि कुरामा सिमित छ । सामान्य बुझाइमा कृषि शिक्षा अझै पनि एउटा बिद्यालय वा बिश्वबिध्यालयको सिमित कोठामा बिद्यार्थीलाई निश्चित पाठ्यक्रम अनुसार दिईने ज्ञान बुझिन्छ । सन् १९५७ देखि औपचारिक रुपमा सुरु भएको हाम्रो कृषि शिक्षाले अहिले ६७ वर्ष टेकेको छ । यो बीच व्यवस्था परिवर्तन भयो, कृषि शिक्षामा विभिन्न बिषय समावेश भए, पाठ्यक्रम थपिए, कृषि मात्रै पढाउने बिद्यालय र बिश्वबिद्यालय खुले, भवन थपिए, बिद्यार्थी र शिक्षक पनि थपिए ।
हाम्रो कृषि प्रणालीमा परिवर्तन आयो । कृषि क्षेत्रमा भएको यी सबै परिवर्तनमा कृषि शिक्षाको भूमिका कस्तो रह्यो त? सायद यसको उत्तरले हाम्रो कृषि शिक्षाको वर्तमान अवस्था सोझै देखाऊछ । आधुनिक कृषि शिक्षाको नाममा नेपालमा बर्षेनी हाम्रा विश्वबिद्यालयबाट दक्ष जनशक्ति उत्पादन भई राखेका छन् । तर नेपालको कृषि हेर्ने हाम्रा दक्ष जनशक्तिमा कृषि प्रतिको संबेदनशिलाता निकै कम रहेको छ । हाम्रो कृषि शिक्षाको सबै भन्दा ठुलो कमजोरी येही नै हो । आधुनिक कृषि शिक्षाको नाममा बिद्यार्थीलाई जे पढाइन्छ त्यसले नेपालको कृषि प्रणालीलाई सम्बोधन गर्दैन । कृषि शिक्षाको नाममा “थप्ने”, “हाल्ने”, “बढाउने” बाहेक अरु कुरामा ध्यान दिएको पाईदैन । “थप्ने” पनि के के कुराहरु, “हाल्ने” पनि कति सम्म, “बढाउने” पनि कहिले सम्म भन्ने कुराको पनि ठोस उत्तर छैन ।
जमिनी वास्तविकता भन्दा हाम्रो कृषि शिक्षा धेरै पर छ । हाम्रा बिश्वबिद्यालयले बिद्यार्थीलाई इसरायल र कोरिया “सिक्न” पठाउँछ । इसरायलमा गएर के सिक्ने? न त्यहाँको हावापानी मिल्छ, न त्यहाँको माटोको अवस्था मिल्छ, न त त्यहाँको बाली चक्र नै, सिकेर चाही के आउने? प्रबिधि सिकेर आए पनि नेपालका ती प्रविधिहरु लागु हुन्छ भन्ने छैन । लागू हुने प्रबिधिहरु न किसान न त बिद्यार्थी, कसैले पनि त्यसको आर्थिक भार बोक्ने अवस्था छैन । “उद्यमशीलता अनुभव”को लागी केहि विश्वबिद्यालयले पाठ्यक्रम विकास गरे पनि बिद्यार्थीहरुलाई सरकारी परियोजना र ज्ञान केन्द्रहरुमा पठाउने गरेको छ । सरकारी कार्यालयमा गएर बिद्यार्थीले के “उद्यमशीलता” सिक्ने?
संघियता पछि स्थानीय तहका बिद्यालयहरुले कृषि शिक्षा माध्यमिक तह देखि नै पढाउदै आएका छन् । स्थानीय तहमा पढाउने कृषि शिक्षाले त्यस स्थानीय तहको कृषि प्रणालीसंग बिद्यार्थीलाई चिनाउन मदत गर्नु पर्ने हो । त्यस स्थानीय तहका कृषि क्षेत्रसंग सम्बन्धित समस्याको पहिचान गर्न र समुदायलाई त्यहाँको समस्याको समाधान स्वयम् निकाल्न कृषि शिक्षाले भूमिका खेल्नु पर्ने हो ।
तर वास्तविकता ठिक उल्टो छ । आयातित पाठ्यक्रमका सब्द याद गरेर जांचमा पास हुने मानषिकता बाहेक बिद्यार्थीमा नयाँ कुरा आउन सकेन । बरु उल्टै माध्यमिक तह सम्म कृषि पढेकाहरुमा कृषिकै उच्च शिक्षामा जाने हौसला घटेको छ । अहिले पनि नेपालका विभिन्न विश्वबिद्यालयमा चार हजार भन्दा धेरै बिद्यार्थी प्रतेक बर्ष भर्ना हुदै आएका छन् । बिद्यार्थी भर्ना हुने र पास गरे पछि बाहिर देश जाने कुरा नेपालमा नौलो होइन । तर नेपालमै बसेका बिद्यार्थीको लागी कृषिको उत्पादन क्षेत्रमा जाने सम्भावना पनि निकै न्युन छ ।
हाम्रो पाठ्यक्रमले कृषि उद्यमशिलातालाई कहिले प्राथमिकतामा राख्दै राखेन । फल स्वरूप नेपालका अधिकांश कृषिका बिद्यार्थीहरुमा आफै फलाएर खान सक्ने क्षमता पनि विकास हुन सकेन । जीविकोपार्जनको लागी कि त विदेश जानु पर्ने कि सरकारी वा गैर-सरकारी संस्था धाउनु पर्ने बाध्यता प्रतेक बिद्यार्थीमा सधै रहने भयो । हाम्रो कृषि शिक्षा यसरि नै मौलाउदै गई रहेको छ ।
कृषि शिक्षा कस्तो हुनु पर्छ भनेर नेपालमा बहस नभएको होइन । सानो स्वरमा भए पनि पटक पटक आवाज उठ्दै आएको हो । कुनै एक्लो निकायले मात्र काम गरेर खासै परिवर्तन हुने देखिदैन । वा राज्य एक्लैले मात्रैले पनि सुधार गर्न सक्दैन । शिक्षा क्षेत्रका बिज्ञहरु, विश्वबिद्यालय, सरकारी र गैर-सरकारी निकायहरु, किसान, नागरिक समूह सबै बीच निरन्तर बहस हुनु आवस्यक छ। निरन्तर खबरदारी र रचनात्मक बहसले मात्र हाम्रो कृषि शिक्षाको भविष्य सकारात्मक दिशा तिर जान सम्भव छ ।