चैत ११ देखि लकडाउन सुरु भएसँगै सहरबजारमा बस्दै आएका प्रायः मानिस गाउँ पसे । स्थानीय सरकारले गाउँगाउँमा धान खेती बढाउने भन्दै निःशुल्क बीउ वितरण गरे । लकडाउन जारी रह्यो । सहरबजारमा कोरोना संक्रमणको जोखिम बढ्यो ।

सहरबजारबाट आएका र विदेशबाट फर्केका युवा पनि गाउँमा धान रोप्न जुटे । फलस्वरूप जिल्लामा यस वर्ष थप ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रको प्रारम्भिक तथ्यांक छ ।

विगतमा धान खेतीयोग्य जमिनमध्ये ८७ प्रतिशतसम्म रोपाइँ भएको थियो । यस वर्ष ९५ प्रतिशतमा धान रोपिएको केन्द्रले जनाएको छ । गत वर्ष बाँझै रहेका खेतमा यस वर्ष धान रोपिएको राइनास नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र अधिकारीले बताए । ‘गाउँदेखि बेंसीसम्मका ठाउँमा विगतमा बाँझो देखिएका जमिनमा यस पटक धान रोपेको देखें । कतिपय ठाउँमा किसानले मास छर्ने तयारी गरेका छन्,’ उनले भने । राइनासटार क्षेत्रमा मात्रै बर्सेनि ८ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको थियो । यस वर्ष बढ्ने उनको आकलन छ । केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत रोहिणीराज घिमिरेले पनि धान खेती गर्ने जग्गाको क्षेत्रफल बढेको बताए । ‘एकातिर सहरमा बसेका गाउँ फर्किए । विदेशबाट युवा पनि आए,’ उनले भने, ‘स्थानीय पालिकाका साथै कृषि ज्ञान केन्द्रले कृषि यान्त्रिकीकरणमा सहयोग गरे । त्यसैले धान उत्पादन क्षेत्रफल बढ्यो ।’

विगतमा जिल्लामा १४ हजार २ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिए । यस वर्ष थप ५० हेक्टर क्षेत्रफल बढेको छ । गत वर्ष जिल्लामा ४४ हजार १ सय ४५ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष बढ्ने उनको दाबी छ । जिल्लाका ठूला फाँट राइनासटार, धमिलिकुवा, रामचोकबेंसी, भलायखर्क, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायत ठाउँमा व्यावसायिक रूपमै धान खेती गरिएको छ । ग्रामीण भेगका फाँटमा समेत पछिल्लो समय उन्नत र हाइब्रिड जातको धान खेती गरिन्छ । -कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित ख