
खाद्यका लागि कृषि अभियान, एक्सन एड र राष्ट्रिय किसान समूह महासंघको संयुक्त आयोजनामा नेपालको विद्यमान कृषि नीतिमा पर्यावरणीय कृषि तथा यसमा बजेटको अवस्था र साना किसाहरूको प्रयासहरू विषयगत अनुसन्धानको अनुभव आदानप्रधान तथा छलफल भएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न संघ,सस्थाका प्रतिनीधि, किसान नेता, किसान, कृषि पत्रकार, कृषिका शिक्षक, विद्यार्थी तथा कृषि अभियान कर्मी लगायत सरोकारवालाहरू समेत उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा एक्सन एडका प्रतिनिधि महेश बडालले नेपालको कृषि नीतिमा पर्यावरणीय कृषि तथा यसमा बजेटको अवस्था र साना किसानहरूको प्रयासहरू नामक अनुसन्धानको सन्दर्भ, यसको उदेश्य तथा विधिको बारेमा बताउदै विश्वमा अहिले देखिएको खाना र खेतीपातीकाे संकट र यसलाई संबोधन गर्न आवश्यक रहेको तथा यसको सबैभन्दा दिगो कृषि पद्धति भनेकै पर्यावराणीय कृषि भएको कुरा बताउनु भएको थियो ।
राष्ट्रिय किसान समूह महासंघका केदार कोईरालाले पर्यावरणीय कृषि उत्पादन अभ्यास: समुदाय तहका सम्बाद र समिक्षा भन्ने शिर्षकमा प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । जसमा पर्यावरणीय कृषि अभ्यास गरिरहेका साना किसानहरूसँग गरिएको छलफल र सम्वादका प्रतिनीधि कथाहरू समेत प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतिमा सांस्कृतिक खेती गरिरहेका किसानहरूले आफ्ना पारिवारिक खेती पद्धती र परम्परागत ज्ञानको प्रयोग गर्दै दिगो कृषि अभ्यास गर्ने, धेरै साना किसानहरूले पुर्खाबाट प्राप्त ज्ञानलाई प्रयोग गर्दै स्थानीय विशेषता अनुकुल मौलिक प्रविधि प्रयोग गर्ने गरेका र मिश्रित बालीको अभ्यास गरेको कुरा समेत समेटिएको थियो ।
कृषि पर्यावरणमाथिको अध्ययनको नतिजाबारेमा आफ्नो प्रस्तुति राख्दै डा.कृष्ण प्रसाद पौडेलले सरकारले पर्यावरणीय कृषिमा आफ्नो विभिन्न नीतिमा गरेको व्यवस्था र यसकालागि छुट्याएको बजेट बारेमा आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय बजेटमा कृषिको हिस्सा एकदमै कम भएको र आवधिक योजनामा आवश्यक गरिएको बजेट र राष्ट्रिय बजेटको खाडल एकदमै धेरै भएको जानकारी गराउनु भयो । पौडेलले कृषि क्षेत्रको बजेटमा पर्यावरणीय कृषि उपेक्षामा परेको र छुट्टाइएको बजेट पनि अन्य क्षेत्रमा रकमान्तर गरेको जानकारी गराउँदै, सरकारको अहिले पनि देशको कृषि सपार्ने नियत नभएको जिकिर गर्नु भयो ।
टिप्पणीकर्ता माननीय बिमला राई पौड्यालले अनुसन्धान राम्रो भएतापनि साना महिला किसानको कुरा नआएको हुँदा यो अधुरो भएकाले यसलाई पछि आउने पूर्ण प्रतिवेदनमा समेट्न अनुरोध गर्दै जलवायु परिवर्तनले निम्त्याएको संकट पनि पर्यावरणीय कृषिको महत्वपूर्ण कुरा भएको जानकारी गराउनु भयो । टिप्पणीकर्ता टीका भट्टराई ले पर्यावरणीय कृषिमा ज्ञानको खाडल भएको, यसलाई पनि प्रष्ट पार्नुपर्ने र पर्यावराणीय कृषिको विकास गर्न यसमा भएको परम्परागत ज्ञान र अहिले विकसित भएको ज्ञानलाई समेटर लान आवश्यक रहेको बताउनु भयो । भट्टराईले समाजमा विद्यमान शिक्षा प्रणाली पर्यारणीय तथा वातावरणीय कृषि अनुकुल नभएको कारणले आउदो पुस्तामा कृषिमा त्यो पनि पर्यावरणीय कृषिमा रूची विहिनता देखिने कुरा गर्नु भएको थियो ।

त्यस्तै गरी बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले आफ्नो भनाई राख्दै पर्यावरणीय कृषिमा सरकारको पनि रूची भएको बताउनु भयो । डा. पौडेल लगायत समूहले गरेको अनुसन्धानले वास्तविक अवस्था चित्रण भएको बताउँदै पर्यावरणीय कृषिको कार्यक्रम अन्तरसम्बन्धित हुने भएकाले यो अध्ययनमा पुर्ण बजेट नखुल्ले जिकिर गर्नु भयो । यसका साथै डा. श्रेष्ठले स्थानीय र प्रदेश सरकारका पनि कार्यक्रमहरू आगामी पुर्ण प्रतिवेदनमा समेटिनेमा आफु विस्वस्त रहेको बताउनु भयो ।
किसान नेता तथा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नगेन्द्र खड्काले सरकार जनताको अभिभावक भएतापनि कृषिको क्षेत्रमा त्यसो हुन नसकेको कुरा गर्दै हाम्रो खेतीप्रणाली सरकारले नै किसानलाई हेला गरिरहेको बताउनु भयो । उपाध्यक्ष खड्काले मानवीय स्वास्थको हिसाब र वातावरणीय हिसाबले पर्यावराणीय कृषिको महत्व हुदाहुदै पनि यसको अन्तरविरोध पुँजीवादी व्यवस्थासँग भएको हुँदा यो सजिलो नभएको बताउनु भयो ।
कार्यक्रममा युवा किसान समुहका तर्फबाट दयालक्ष्मी श्रेष्ठ, नेपाल किसान संघका तर्फबाठ गणेश तिमल्सिना, राष्ट्रिय किसान आयोगको तर्फबाट पुष्पा भुसाल लगायतले पर्यावरणीय कृषिमा आफ्नो धारणा राख्नु भएको थियो । कृषि पर्यावरणका अध्ययन, अनुसन्धानको दायरा फराकिलो बनाउने उद्देश्यले विहान ९:३० मा सुरु भएको कार्यक्रम होटल भिभान्त, झम्सिखेलमा करिब ४ घण्टा सम्म सञ्चालन भएको थियो ।